दुल्लुमा हाडजोर्नी शिविर, ५७ जनाको शल्यक्रिया

मंगलबार, मंसिर १८, २०८१

दैलेखको दुल्लु अस्पतालमा सञ्चालन भएको हाडजोर्नी सम्बन्धी शिविरमा १३० जनाले सेवा लिएका छन् । गत शुक्रबारदेखि सुरुभएको शिविर आज समापन भएको हो। 

सामाजिक विकास मन्त्रालय, दुल्लु नगरपालिका र सोलुखुम्बु पोलीटेक्निकल एकेडेमी काठमाडौंको सहकार्यमा शिविर सञ्चालन भएको हो। १३० जना सेवाग्राही मध्ये ५७ जनाको शल्यक्रिया भएको छ। 

शिविरको समापन सत्रमा सहभागी कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आर्थिक अभावले उपचारमा थलिएका बिरामीको निःशुल्क उपचार भएको बताउनुभयो ।

स्वास्थ्य संवेदनशीलता प्रति गम्भीर हुँदै सहज सुलभ स्वास्थ्य उपचारका लागि शिविर सञ्चालन गरिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो। उहाँले एकेडेमीका तर्फबाट यस किसिमका नवप्रवर्तनात्मक कार्य हुने अपेक्षा गर्नुभयो। 

नगरप्रमुख भरत प्रसाद रिजालले साधन स्रोतको अभाव भएको ठाउँमा धेरै नागरिकलाई लक्षित गरी सेवा प्रदान गरेको प्रति खुशी व्यक्त गर्नुभयो। सीमित स्रोतसाधनमा सञ्चालन भइरहेको अस्पतालमा चाहेजस्तो गुणस्तरीय सेवा प्रदान गर्न कठिनाई भइरहेको जानकारी गराउँदै उहाँले राम्रोको लागि प्रयास निरन्तर भइरहेको बताउनुभयो।

सोलुखुम्बु पोलिटेक्निकल एकेडेमी डा. मिग्मा शेर्पाले हातखुट्टा भाँचेको बिरामी आर्थिक कारणले उपचार नभई अपाङ्गता भएर बसेको पाइएको बताउनुभयो। भाँचिएका हातखुट्टामा स्टिल, प्लेटहरु निकाल्न समेत खर्च अभाव हुने गरेको कारणले पनि यस किसिमको शिविरको सहजीकरण भएको महसूस गरिएको उहाँले बताउनुभयो।

एकेडेमीले बिसौं वर्षदेखि यस किसिमको अपरेशन निरन्तर भइरहेको उहाँको भनाई छ । यसअघि जाजरकोटमा १३० बिरामी मध्ये ५७ जनाको अपरेशन गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  २०:१९
प्रतिक्रिया दिनुहोस्