सोसल मिडिया
रुकुम पश्चिमको चौरजहारीमा ११० जना आँखाका बिरामीको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । चौरजहारी अस्पतालमा दुईदिन सम्म चलेको नि:शुल्क आँखा उपचार शिविरमा आँखाको जाँच, औषधि वितरणका साथै शल्यक्रिया गरिएको हो ।
चौरजहारी नगरपालिकाले मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको समन्वय, तिलगंगा आँखा प्रतिष्ठान क्योर व्लाईण्डनेस परियोजनाको आर्थिक तथा नेपाल रेडक्रस सोसाईटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो ।
चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालका अनुसार शल्यक्रिया शिविर सञ्चालन गर्नुअभि एक हप्ता अघि नगरपालिकाका विभिन्न स्थानमा मोतिबिन्दु छनौट शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट मोतिबिन्दु पत्ता लागेका बिरामीहरुको लागि शल्यक्रिया शिविर सञ्चालन राखिएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले दुई दिनसम्म चलेको शिविरबाट ११० जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको बताउनुभयो । उक्त शिविरबाट २७१ जना पुरुष र ३३९ महिला गरेर ६१० जनाले आँखा जाँच गरेका थिए ।
चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले चौरजहारी नगरपालिका मात्रै नभई रुकुम पश्चिम, जाजरकोट र सल्यानका आँखाका बिरामीहरुले समेत शिविरबाट सेवा लिएको बताउनुभयो । आर्थिक अभावले आँखाको उपचार गराउन नसकेकेका सर्वसाधारणहरुलाई लक्षित गरेर नगरपालिकले शिविर सञ्चालन गरेको नगर प्रमुख वादीले जनाउनुभयो ।