मन्दिरको पुनर्निर्माणका लागि रुकुमकोटमा महायज्ञ संचालन
रुकुम पूर्वको रुकुमकोटस्थित छिप्रिदहमा श्रीमदभगवत महापुराण सप्ताह ज्ञान महायज्ञको संचालन गरिएको छ । उक्त महायज्ञको आज बुधवार कलश (शोभायात्रा, गाजाबाजासहित र्यालि तथा झाँकीका साथ बजार परिक्रमा गरि औपचारिक उद्घाटन गरिएको छ ।
बिन्द्यावासिनी भगवती मन्दिर सेवा समिति रुकुमकोट रुकुम पूर्वको आयोजनामा सप्ताह ज्ञान महायज्ञको संचालन गरिएको हो ।
मंसिर १८ गतेदेखि २६ गतेसम्म संचालन हुने महायज्ञमा नेपालका प्रशिद्द कथा शिरोमणी दिपक प्रसाद पौडेलबाट कथा प्रवचन हुने बताइएको छ । हरेक दिन बिभिन्न जनचेतनामूलक नाटक प्रस्तुति तथा देवलिलाका साथ संगितमय कथा प्रवचन र लक्ष्यवर्ती प्रज्वलन हुने समेत बताइएको छ ।
रुकुमकोट छिप्रिदहमा रहेको विन्द्यावासिनी भगवती मन्दिरको भौतिक पूर्वाधार विकास तथा पुननिर्माणको सहयोगार्थ ज्ञान महायज्ञको संचालन गरिएको आयोजक समितिका सचिव प्रचण्ड मल्लले बताउनुभयो । बि.स. १८७० मा स्थापीत भगवती देबिको आस्थाको रुपमा रहेको मन्दिरको वास्तुबिज्ञान अनुसारको संरचना निर्माण गर्नुपर्ने आवश्यकता भएकोले सो कार्यको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञको संचालन गरिएको समेत सचिव मल्लले जानकारी दिनुभयो ।
सप्ताह ज्ञान महायज्ञमा श्रीमद्भागवत, सतचण्डी, वेदपाठ, रुद्राभिषेक (रुद्रि पाठ), सहस्र जलधारा वेलपत्र अर्पण, ग्रहशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमि दान, ब्राहमण भोजन सहित पितृको फोटो राखि पितृ तर्पण, तुलादान, विवाह, व्रतबन्ध, गुन्यूचोली सहित आरती अर्पण जस्ता धार्मिक कार्यहरु सञ्चालन गरिने बताइएको छ ।
उक्त ज्ञान महायज्ञमा द्वन्दका कारण मृत्यु भएकाहरुको आत्मशान्तीको लागि पिडितहरुबाट फोटो सहित सवाकरोड दिप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको आयोजक समितिका अध्यक्ष चन्द्र बहादुर मल्लले बताउनुभएको छ ।