करको टोली रुकुम आउँदा ब्यापारीको भागाभाग

सोलाबाङका केहि व्यापारीहरुलाई कारबाही, राडी बजार सुनसान
शुक्रबार, मंसिर २१, २०८१

आन्तरिक राजश्व कार्यालय दाङको एक टोली रुकुम पश्चिम आईपुगेको छ । कर कार्यालयको टोली आउँदा यहाँका केहि व्यापारीहरुले पसल बन्द गरेका छन् । 

बिहिबार मुसिकोट नगरपालिका -४ का सोलाबाङका केहि व्यापारीहरुलाई जरिवाना र केहि व्यापारीको कागजात नियन्त्रणमा लिएको टोली शुक्रबार आठबिसकोट पुगेको छ । आज बिहानैबाट आठबिसकोट -९ को राडि बजारमा रहेका अधिकांश पसल बन्द भएको स्थानीयले बताएका छन् । करको टोली पुगेको खबरपछि प्राय व्यापारीहरुले पसल बन्द गर्ने गरेको रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले बताउनुभयो । 

उहाँका अनुसार कारबाहि तथा जरिवाना परिने डरले करको टोली आएको बेला केहि व्यापारीहरुको भागाभाग हुने गरेको छ । अध्यक्ष खड्काले रित पूर्वक कारोबार नगरेका केहि व्यवसायीहरुले डर मानेर व्यवसाय बन्द गर्नुभन्दा आवश्यक परामर्श लिने, कागजात राख्ने प्रक्रिया सिक्नुपर्ने बताउनुभयो । 

उद्योग वाणिज्य संघ आठबिसकोटका अध्यक्ष दिनेश चन्दले करको टोली आएको खबरपछि व्यापारीहरुमा हाउगुजी हुने गरेकोले बन्द गरेको बताउनुभयो । सचेतना तथा नियमति अनुगमनमा आएको करको टोलीसँग व्यवसायीहरु डराउन नपर्ने उहाँको भनाई छ ।

कर कार्यालयको टोलीसँगको सल्लाह बमोजिम आजै कर सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्न लगिएको चन्दले बताउनुभयो । बिहिबार मापदण्ड पुरा नगरेका केहि व्यवसायीहरुलाई जरिवाना र कागजात जफत गरेको हल्ला सुनेपछि केहि व्यापारीहरु डराएर पसल बन्द गरेको उहाँले जानकारी दिनुभयो । 

आन्तरिक राजश्व कार्यालय दाङका प्रमुख श्रीधर टण्डनले चार जना कर अधिकृतसहितको टोली रुकुम गएको बताउनुभयो । उहाँले कर सम्बन्धि सचेतना, अनुगमन तथा नियमनको क्रममा टोली फिल्डमा गएको जानकारी दिनुभयो ।

व्यापारीहरुले डराएर पसल बन्द गर्नुभन्दा पनि आवश्यक परामर्श दिने मौकाका रुपमा लिनुपर्ने उहाँको भनाई छ । फिल्डबाट टोली फर्किएर प्रतिवेदन पेश गरेपछि मात्र कारबाहि तथा जरिवानाको विवरण उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्