सोसल मिडिया
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको जिल्ला अधिवेशनको कार्यतालिका अन्तर्गत आज उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ ।
महासंघको निर्वाचन समितिका अनुसार जिल्ला कार्य समितिको विभिन्न ६ वटा पदमा एकल उम्मेदवारी परेको छ भने विभिन्न ६ पदमा कसैको पनि उम्मेदवारी परेको छैन ।
निर्वाचन समितिका सदस्य अधिवक्ता अमर बहादुर ओलीले अध्यक्ष पदमा चार जनाको, उपाध्यक्षमा तीन जनाको र सचिव पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको बताउनुभयो । उहाँका अनुसार अध्यक्ष पदमा अमर राज पुन मगर, गोपाल प्रसाद रेग्मी, प्रविर ददेल र नारायण ओलीको उम्मेवारी परेको ।
त्यसैगरी उपाध्यक्ष (खुला) पदमा दिवस पोख्रेल, देव कुमार ओली र भरत चन्दको उम्मेदवारी परेको छ भने सचिवमा दिपेन्द्र महतारा र परिचन्द्र खत्रीको मनोनयन दर्ता भएको छ ।
उपाध्यक्ष (महिला), कोषाध्यक्ष, सहसचिव र एक सदस्य पदमा एक/एक जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष (महिला) मा सुमित्रा केसी, कोषाध्यक्षमा सन्देश जैसी, सह सचिव (खुला) प्रचण्ड खत्री, सह सचिव (महिला) मा छिमा केसी र दलित सदस्यमा क्षितिज विश्वकर्माको मात्र उम्मेदवारी दर्ता भएको छ । उहाँहरु निर्विरोध हुनुभएको छ । त्यसैगरी केन्द्रिय परिषद सदस्यमा गणेश कुमार बिक (चिन्तन) को मात्र उम्मेवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार विभिन्न ६ पदमा भने कसैको पनि उम्मेदवारी परेको छैन । महिला सदस्य, आदिवासी जनजाती सदस्य, अन्य सदस्य र खुला सदस्यमा उम्मेदवारी नपरेको हो । त्यसैगरी प्रदेश परिषद सदस्य (समावेशी) र प्रदेश परिषद सदस्यमा पनि कुनै पनि उम्मेदवारी नपरेको अधिवक्ता ओलीले जानकारी दिनुभयो ।
निर्वाचन कार्यतालिका अनुसार २७ गते बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको छ भने २८ गते मतदानको कार्यक्रम तय भएको छ ।