ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सल्लाहकार समितिद्वारा अनुगमन

शुक्रबार, मंसिर २८, २०८१

रुकुम पूर्व/ रुकुम पूर्वमा सर्वाङ्गिन विकास केन्द्र, फेयरमेड फउन्डेसन नेपाल र स्थानीय सरकारसंगको समन्वय तथा साझेदारीमा संचालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाको संयुक्त रुपमा अनुगमन गरिएको छ ।

जिल्ला स्तरिय परियोजना सल्लाहकार समिति र स्थानीय प्रतिनिधिहरुबाट परियोजनाबाट संचालन भएका कार्यक्रमको अनुगमन गरिएको हो ।

जिल्लाका बिभिन्न स्थानमा परियोजना मार्फत संचालन भएका कार्यक्रमहरुको मंसिर २७ र २८ गते २ दिन सम्म अनुगमन गरिएको सर्वाङ्गिन विकास केन्द्रका अध्यक्ष गोपाल प्रसाद सुनारले बताउनुभयो । 

सन् २०२२ देखि हालसम्म संचालन भएका कार्यक्रमहरुको समग्र प्रगति मूल्यांकन गर्ने, समन्वय तथा साझेदारीमा लक्षित स्थानमा उपलब्ध गराएका स्रोत र साधनहरुको उपयोगिता र उपभोगको अवस्था अवलोकन गर्ने, परियोजनाको प्रभावकारीताको मापन गर्ने, बर्तमान अवस्थाका स्वास्थ्य क्षेत्रका चुनौतिहरु र समस्याबारे छलफल तथा समाधानका लागि उपायहरुको खोजि गर्ने, परियोजनाको पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता गर्ने साथै परियोजनाको योगदानको दिगोपनाको अभ्यास सुनिश्चित गर्ने उदेश्यका साथ संयुक्त अनुगमन गरिएको सर्वाङ्गिन विकास केन्द्रका परियोजना संयोजक उदय केसीले बताउनुभएको छ । 

परियोजना सल्लाहकार समितिको अनुगमनले पुथा उत्तरगंगा गाउँपालिकाको हुकाम स्वास्थ्य चौकी र तकसेरा स्वास्थ्य चौकी, भूमे गाउँपालिकाको मोरावाङ स्वास्थ्य चौकी र महत स्वास्थ्य चौकी साथै सिस्ने गाउँपालिकाको चेतनशिल स्वास्थ्य आमा समूह पोखरा ३ र पोखरा स्वास्थ्य चौकीको अनुगमन गरि कर्मचारी तथा प्रतिनिधिहरुसंग छलफल तथा सुझाव संकलन गरेको छ ।

अनुगमनका क्रममा सहभागिले परियोजनाले संचालन गरेका कार्यक्रम आवश्यकतामा आधारित भए र प्रभावकारी भएकाले निरन्तरताको समेत अपेक्षा गरेका थिए ।

जिल्लास्तरिय उक्त अनुगमनमा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठ, उपप्रमुख मोहन बहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपाने, जिल्ला समन्वय अधिकारी शेर बहादुर पुन, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, भूमे गाउँपालिका उपाध्यक्ष सबिना बुढा, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा, सिस्ने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी, पुथाउत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुव बिक, जिल्ला अस्पताल रुकुम पूर्वका डक्टर सकिर अन्सारी, स्वास्थ्य कार्यालयका प्रतिनिधि मनोज कुमार श्रेष्ठ लगायत गैरसरकारी संस्था महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अनुगमनका सल्लाहकार समितिका प्रतिनिधिहरुले स्वास्थ्य चौकि तथा सर्वाङ्गिन विकास केन्द्रले संचालन गरेका प्रभावकारी क्रियाकलापहरुलाई निरन्तरता दिन र दिगोपनाका लागि सम्बन्धित निकायसंग निरन्तर समन्वयमा रहन सुझाव दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्