सोसल मिडिया
रुकुम पूर्वको रुकुमकोटस्थित छिप्रिदहमा बिन्द्यावासिनी भगवती मन्दिरको भौतिक पूर्वाधार विकास र पुननिर्माणका लागि संचालित महायज्ञको शुक्रबार औपचारिक कार्यक्रम गरि समापन गरिएको छ ।
बिन्द्यावासिनी भगवती मन्दिर सेवा समिति रुकुमकोट रुकुम पूर्वको आयोजनामा श्रीमदभगवत महापुराण सप्ताह ज्ञान महायज्ञको गत मंसिर १८ गतेदेखि संचालन गरिएको थियो । महायज्ञ २६ गतेसम्म संचालन हुनेगरि योजना गरिएको भएपनि भक्तजनहरुको उपस्थितिको अवस्थालाई मध्यनजर गरि २ दिन थप गरि २८ गतेसम्म संचालन गरिएको हो ।
उक्त महायज्ञको बेला श्रीमद्भागवत, सतचण्डी, वेदपाठ, रुद्राभिषेक (रुद्रि पाठ), सहस्र जलधारा वेलपत्र अर्पण, ग्रहशान्ति पूजा, व्रतबन्ध लगायत आरती अर्पण जस्ता धार्मिक कार्यहरु सञ्चालन भएका थिए भने धार्मिक सांस्कृतिक प्रस्तुतिका साथ कथाशिरोमणि दिपक प्रसाद पौडेलबाट कथा प्रवचन गरिएको थियो ।
महायज्ञको क्रममा उपस्थित श्रदालु भक्तजनहरुले मन्दिरको विकास तथा निर्माणका लागि नगद करिब २२ लाख र जग्गादान गरेको सेवा समितिका सचिव प्रचन्ड मल्लले जानकारी दिनुभएको छ । सहयोग प्राप्त रकममध्ये करिब १० लाख ब्यवस्थापनमा खर्च भएको र आय तथा ब्ययको बिवरण भने केहि दिनमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईने मल्लले बताउनुभएको छ ।
शुक्रबार समितिका अध्यक्ष चन्द्र बहादुर मल्लको अध्यक्षता र सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा जनप्रतिनिधिहरु बुद्दिजिबी, जेष्ठ नागरिक लगायत श्रदालु भक्तजनहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन समितिका सचिव प्रचन्ड मल्लले गर्नुभएको थियो ।