सोसल मिडिया
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -२ कुनाखेतमा भेटिएको शवको मृत्युको कारण खुल्न सकेको छैन ।
सोमबार दिउँसो कुनाखेत नजिकै सानीभेरी नदि किनारमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका -५ हुकाम घर भई हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ पातुखोला बस्ने ४७ वर्षीय लिला बहादुर घर्तीको शव फेला परेको थियो ।
घटना शंकास्पद लागेपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको लागि कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखाबाट तालिमप्राप्त कुकुरसहितको टोली मगाएको थियो । उक्त टोली आज मंगलबार दिउँसो घटनास्थल पुगेको थियो । कुकुरसहितको उक्त टोलीले पनि घर्तीको हत्या वा भवितव्य भएको भन्ने बिषयमा कुनै पनि प्रमाण फेला नपारेको बताईएको छ ।
अनुसन्धानको लागि घटनास्थल पुगेको कुकुरसहितको टोली भने फर्किसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार घर्तीको टाउकोमा मात्र गहिरो चोट रहेको छ । शव रहेको स्थान नजिकै सानीभेरी नदि, सडक र भिर रहेको, शव भेटिएको अघिल्लो रात घर्तीको कसैसँग विवाद भएको हल्ला रहेकोले प्रहरीले हत्या हो कि भवितव्य हो भन्ने बारेमा थप अनुसन्धान गरिरहेको छ ।
मृतक घर्ती त्यसक्षेत्रको चर्चित कुनाखेल मेला हेर्न भनेर घरबाट गएको बताईएको छ । घर्तीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ ।