कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम

जङगली जनावर र चराचुरुङ्गीको लागि रिचार्ज पोखरी

बुधबार, पुस ३, २०८१

रुकुम पश्चिमका विभिन्न तीन स्थानमा रिचार्ज पोखरी निर्माण गरिएको छ । सुख्खायाममा जङगली जनावर र चराचुरुङ्गीहरुलाई पानीको अभाव हुन नदिन रुकुमपश्चिमका तीन स्थानमा रिचार्ज पोखरी निर्माण गरिएको हो । 

सानीभेरी गाउँपालिका –४ को टुरा, त्रिवेणी गाउँपालिकाको –९ को चौपारी र १० को भानीपोलेमा रिचार्ज पोखरी निर्माण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिम शाखाले कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम मार्फत विपद् जोखिम न्यूनीकरणका लागि आपतकालिन पूर्वतयारी क्षेत्र अन्तर्गत रिचार्ज पोखरी निर्माण गरेको हो ।

रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाका अनुसार पारिस्थितिक प्रणालीमा देखिएको असर न्यूनिकरण गर्न र जंगली जनावर तथा चराचुरुङ्गीलाई पानीको आवश्यकता परिपूर्ति गर्न रिचार्ज पोखरी निर्माण गरिएको हो । जलस्रोतको पुनर्भरण गर्न तीन वटा रिचार्ज पोखरी बनाईएको उहाँको भनाई छ । 

रिचार्ज पोखरी पानीका मुहान भन्दा माथिल्लो भागमा निर्माण गरिएको छ । पोखरीमा बाह्रैमास पानी जम्मा गरेर तल्लो क्षेत्रमा रहेका पानीका मुहान सुख्खा हुन नदिन पनि यो उपाय अपनाईएको हो । पोखरीमा आकाशे पानी संकलन गरिनुका साथै उपलब्ध भएकाबेलाको पानी जम्मा हुनेछ । पानीका श्रोतमा चिस्यान बनाईराख्न र जनावर तथा चराचुरुङ्गीहरुको लागि पानी व्यवस्था गर्न रिचार्ज पोखरी प्रभावकारी हुने स्थानीयको विश्वास छ । एक रिचार्ज पोखरीको क्षमता एक लाख ८० हजार लिटर रहेको छ । 

सानीभेरी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष मनोज बुढाथोकीले रिचार्ज पोखरी निर्माणले पानीको अभाव हुने स्थानमा रहेका जङगली जनावर र चराचुरुङ्गीलाई ठुलो राहत हुने बताउनुभयो । उहाँले पानीका मुहान सुकेको बेला जनावर र चराचुरुङ्गीले आफ्नो बासस्थान छोडेर जाने जोखिम रहेकोले रिचार्ज पोखरी अत्यावश्यक रहेको उल्लेख गर्नुभयो ।

पोखरी निर्माण गरिएका स्थानहरुमा बिशेष गरेर सुख्खायाममा पानीको चरम अभाव हुने गर्दछ । मानिसहरुका लागि गाउँभन्दा टाढाबाट पाईपमार्फत पानीको जोहो गरिएको र जङगली जनावर र चराचुरुङ्गीको लागि निकै समस्या हुने गरेको थियो । अब भने उक्त समस्या हट्ने वडा अध्यक्ष बुढाथोकीको विश्वास रहेको छ । 

रेडक्रस रुकुमपश्चिमका सभापति रमा गौतमका अनुसार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) र विभिन्न साझेदार राष्ट्रिय सोसाइटीहरुको सहयोगमा जाजरकोट भूकम्पपछि यस क्षेत्रमा कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम सञ्चालन भईरहेको छ ।

जस अन्तर्गत अस्थायी आवास निर्माण तथा स्तरोन्नती, जीविकोपार्जन, विपद् जोखिम न्यूनिकरण, खानेपानी, सरसफाइ तथा स्वच्छता, संरक्षण लैङ्गिक तथा समावेशीकरण र सामुदायिक संलग्नता तथा जवाफदेहिता लगायतका क्षेत्रमा विभिन्न गतिविधिहरु सञ्चालन भईरहेको सभापति गौतमले जनाउनुभयो । 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्