सोसल मिडिया
मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट चौरजहारी सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरो वर्षदिनसम्म पूर्ण रुपमा हटाईएको छैन । जसको कारण नहटाउँदा दुर्घटनाको जोखिम बढेको छ ।
गत वर्ष जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले सडक चिरा पारेको थियो भने केहि स्थानमा पहिरो गएको थियो । त्यसपछि वर्षाको कारण पनि सडकका विभिन्न स्थानमा पहिरो गएको थियो । करिब एक दर्जन स्थानमा खसेको पहिरो अझैसम्म पूर्ण रुपमा पन्छाईएको छैन ।
सानीभेरी गाउँपालिका वडा नम्वर १ को चाईनाबगर, २ को गिठाकोट, ७ को सहरे, ९ को खारखोला, मुसिकोट नगरपालिका १४ को ढुरे, ३ को खरखरे लगायतका स्थानको पहिरो अझैसम्म पूर्ण रुपमा हटाईएको छैन । तत्कालिन अवस्थामा सडकको एकातर्फको भागबाट यातायातका साधनहरु आवजावतको लागि पहिरोको केहि भाग हटाईएतापनि बर्षदिनसम्म राजमार्गको पहिरो यथावत रहेको सानीभेरी गाउँपालिका –९ निवासी सामाजिक अभियान्ता नारायण ओलीले बताउनुभयो ।
उहाँका अनुसार यी स्थानमा पटक पटक दुर्घटना समेत हुने गरेका छन् । सडकको आधि भाग ओगटेको पहिरो पन्छाउन कोहि कसैको पनि चासो नरहेको तर दुर्घटना निम्त्याउने जोखिम बढेको उहाँको भनाई छ ।
रुकुम पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले लामो समयसम्म राजमार्गको पहिरो पूर्ण रुपमा नहटाउँदा दुर्घटनाको जोखिम रहेको उल्लेख गर्नुभयो । यस विषयमा सम्बन्धित निकायलाई यथासक्य पहिरो पन्छाउन निर्देशन दिईसकेको उहाँले बताउनुभयो । बाटो चलेकै त छ भनेर वेवास्ता गरिएमा दुर्घटना हुनसक्ने भएकोले राजमार्गलाई चुस्त राख्न आवश्यक रहेको उहाँको भनाई छ ।
यस विषयमा सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले तत्कालै सडकको पहिरो हटाईने बताउनुभयो । केहि स्थानमा चट्टान नै झरेको कारण सोहि अनुसारको उपकरण प्रयोग गर्नुपर्ने भएकोले ढिलाई भएको उहाँको भनाई छ ।
करिब एक हप्ताभित्रै सबै पहिरो पुर्ण रुपमा पन्छाईसक्ने डिभिजन प्रमुख शर्माले उल्लेख गर्नुभयो । चट्टान बाहेका स्थानको पहिरो भने तुरुन्तै हटाउने गरी आवश्यक समन्वय भईरहेको उहाँले जानकारी दिनुभयो ।
मध्यपहाडी राजमार्गको ६७ किलोमिटर सडकखण्ड रुकुम पश्चिममा रहेको छ । त्यसमध्य ६१ किलोमिटर सडकखण्ड डिभिजन कार्यालयलाई हस्तान्तरण भईसकेको छ । मुसिकोट नगरपालिकाको साँखधुरीदेखि रुकुमपूर्वको सिमाना खोपीचारसम्मको छ किलोमिटर क्षेत्रमा ठेक्का लागेर काम भईरहेको छ । यो क्षेत्रको किटनीमा कडा चट्टान र ठुलो पहिरोको जोखिम रहेकोले तिब्र रुपमा काम हुन सकेको छैन ।