चर्किएकै भवनमा जोखिम मोलेर पढाई, खुला चौरमा परीक्षा

सोमबार, पुस ८, २०८१

रुकुम पश्चिममा भूकम्पले चर्किएका भवनमै पठनपाठन हुने गरेको छ भने खुला चौरमा परीक्षा सञ्चालन हुने गरेको छ । विद्यालय भवन निर्माण हुन नसकेको र अस्थायी सिकाई केन्द्रहरुमा अत्याधिक चिसो हुने भएकोले जोखिमपूर्ण अवस्थाका कक्षाकोठामै पठनपाठन हुने गरेको हो । 

अघिल्लो वर्षको कात्तिकमा गएको भूकम्पले भवन क्षति गरेका अधिकांस विद्यालयका बालबालिका चर्किएको कोठामा पढ्ने गरेका छन् भने परीक्षा लगायत अन्य गतिविधिहरु खुला चौरमा हुने गरेको छ । आठबिसकोट नगरपालिका –९ स्थित कालिका माध्यमिक विद्यालय सुन्दरपानीमा अहिले दोश्रो त्रैमासिक परीक्षा चलिरहेकोे छ ।

विद्यालयका शिक्षक कविराम बुढाथोकीले खुला चौरमा लहरै बिद्यार्थीहरु राखेर परीक्षा सञ्चालन गरेको बताउनुभयो । भूकम्पले यस विद्यालयका पाँच वटा भवनमा क्षति गरेको थियो भने पक्कि भनिएको कार्यालय भवन पनि चर्किएको छ । तत्कालिन अवस्थामा पाँच वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सञ्चालन गरिएतापनि हिउँदको चिसो, वर्षाको झरी र हावाहुरीले प्रभावकारी रुपमा पठनपाठन हुन सकेको छैन ।  

Kalika-mabi_Rukum-(3)-1734954156.jpgपरीक्षा सञ्चालनको लागि पर्याप्त कोठा नभएकोले खुला चौरमा राखेर परीक्षा गराउनुपरेको उहाँले जानकारी दिनुभयो । शिक्षक बुढाथोकीका अनुसार चिसो मौसममा घामको न्यानो पनि हुने भएकोले विद्यालयको खुला चौर परीक्षा केन्द्र बनेको छ । उहाँले कक्षाकोठाकै अभावको कारण कक्षा ११ र १२ को पठनपाठन नियमित गर्न नसकिएको बताउनुभयो । 

सानीभेरी गाउँपालिका –२ मा रहेको भेरी दोभान माध्यमिक विद्यालयमा पनि चर्किएकै भवनमा पठनपाठन हुने गरेको छ । यहाँका विद्यार्थीहरुले कक्षामा ढुक्कले बसेर पढ्ने अवस्था नरहेको बताउने गरेका छन् । विद्यालयमा प्रधानाध्यापक भुपेन्द्र ओलीले भूकम्पको कारण विद्यालयका सबै भवन र कक्षाकोठा क्षति पुगेको बताउनुभयो । विद्यालयमा कक्षाकोठा अभाव भएपछि कक्षा ८, १० र ११ लाई चर्किएकै भवनको कोठामा राखेर पठनपाठन गर्न बाध्य भएको प्रधानाध्यापक ओलीले बताउनुभयो ।

आठबिसकोट नगरपालिका –१३ स्थित आदर्श मावि घेत्माका प्रधानाध्यापक तिलक नारायण मल्लले पनि कक्षा १, २ र ३ लाई चर्किएकै भवनमा राखेर पढाउनु परेको बताउनुभयो । आजभोली अधिकांस कक्षाहरु खुला चौरमै सञ्चालन हुने गरेको मल्लले जनाउनुभयो । 

शिक्षा विकास तथा समन्वय इकाई रुकुमपश्चिमका प्रमुख ताराप्रकाश पुन मगरका अनुसार भूकम्प गएको वर्षदिन पुरा हुँदा पनि भवनहरु पुनर्निर्माण हुन सकेका छैनन् । उहाँका अनुसार भूकम्पको कारण जिल्लाभरका २८८ सामुदायिक विद्यालय मध्य २६२ वटामा क्षति पुगेको छ ।

कार्यालयको तथ्याङक अनुसार ४९ विद्यालय पूर्ण क्षति र २१३ विद्यालयमा आंशिक क्षति भएको छ । इकाई प्रमुख पुनका अनुसार चौरजहारी नगरपालिकाका तीन विद्यालयमा पूर्ण क्षति छ भने ३१ विद्यालयमा आंशिक क्षति छ । त्यसैगरी आठबिसकोट नगरपालिकाका १७ विद्यालय पूर्ण र ३७ मा आंशिक, मुसीकोट नगरपालिकाका चार विद्यालयमा पूर्ण र ४८ विद्यालयमा आंशिक क्षति भएको छ ।

सानीभेरी गाउँपालिकामा १८ विद्यालयमा पूर्ण क्षति र २३ मा आंशिक, त्रिवेणी गाउँपालिकाका चार विद्यालयमा पूर्ण र ३४ मा आंशिक र बाँफिकोट गाउँपालिकाका तीन विद्यालयमा पूर्ण र ४० विद्यालयमा आंशिक क्षति भएको विवरण शिक्षा विकास तथा समन्वय इकाईमा रहेको छ । 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्