रुकुम पश्चिममा न शववाहन न त शवगृह

‘बिरामी बोक्ने एम्बुलेन्स लास बोक्छन्, पोष्टमार्टम घरमा लास गन्हाउँछ’

बुधबार, पुस १०, २०८१

रुकुम पश्चिममा एउटा पनि शववाहन नहुँदा बिरामी बोक्ने एम्बुलेन्स र यात्रु बोक्ने जीपमै लास बोक्नुपर्ने बाध्यता रहेको छ । विभिन्न घटना तथा कारणले मृत्यु भएका व्यक्तिको शव घटनास्थलबाट अस्पताल तथा अस्पतालबाट घरसम्म लैजान समस्या हुने गरेको छ ।

शव बोक्न एम्बुलेन्स वा जीप प्रयोग भएपछि त्यसमा बिरामी चढ्न नमान्ने, डराउने अवस्था रहेको छ । संयुक्त एम्बुलेन्स चालक संघका जिल्ला अध्यक्ष कृष्णकुमार ददेलले शववाहन नभएपछि एम्बुलेन्सलाई प्रयोग गर्ने बाध्यता रहेको बताउनुभयो ।

लास बोकेको थाहा पाएपछि भने एम्बुलेन्सलाई बिरामी ओसारपसारका लागि कमै प्रयोग गर्ने अवस्था रहेको छ । अध्यक्ष ददेलले भन्नुभयो, ‘कहिलेकाँहि जीपमा शव बोक्ने गरिएतापनि अधिकांस रुपमा एम्बुलेन्स नै प्रयोग हुन्छन्, यसले गर्दा धेरैजसो मान्छेहरु एम्बुलेन्समा बिरामी राख्न डराउने गरेका छन् ।’ जिल्लामै लास बोक्ने गाडी नभएकोले मानवीय संवेदना र सेवा भावको कारण पनि शव बोक्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । 

स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमका प्रमुख डा. महेश चौलागाईका अनुसार जिल्लाभर एउटा पनि शववाहन नहुँदा लास बोक्ने गाडी तत्काल व्यवस्था गर्न समस्या हुने गरेको छ । जिल्ला अस्पतालमा आवश्यक बजेट व्यवस्थापन गरेर वा स्थानीय तहले आवश्यक समन्वय गरेर शववाहन सञ्चालन गर्न अत्यावश्यक रहेको उहाँको भनाई । डा. चौलागाईका अनुसार जिल्लामा केहिदिन शव राख्नको लागि शवगृह समेत छैन ।

वि.सं. २०४५ सालमा जिल्ला अस्पताल निर्माण हुँदा बनाईएको साँघुरो पोष्टमार्टम घर छ । हालसम्म त्यहि छाप्रो शवगृहको रुपमा प्रयोग भईरहको छ । जीर्ण अवस्थामा रहेको उक्त घर सल्ले गाउँको नजिकमा रहेकोले थप समस्या देखिएको छ । डा. चौलागाईले कचक्क परेको कोठामा दुई/तीनसम्म शवराख्नु पर्ने अवस्था भएमा दुर्गन्ध फैलने भएकोले स्थानीयको ब्यापक गुनासो आउने गरेको बताउनुभयो ।

एउटा मात्र शव राख्न मिल्ने उक्त घरमा दुर्घटना वा अन्य कारण आएका एकभन्दा बढी शवहरुको पोष्टमार्टम गर्न र राख्न समेत स्थान अभाव हुने गरेको छ । 

नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिमका अध्यक्ष रमा गौतमले जिल्लामा अझैसम्म एउटा पनि शववाहन र उपर्युक्त शवगृह नहुनु दुःखद् भएको बताउनुभयो । सरोकारवाला निकायले सेवाभावलाई बिर्सदा यस्ता मानवीय संवेदनाका सवाल ओझेलमा परेको उहाँको भनाई छ ।

जिल्ला बाहिर तथा अस्पतालबाट आफन्तको शव घरसम्म ल्याउन शववाहन नपाउनु, एम्बुलेन्स तथा जीपलाई हारगुहार गरेर, महङगो भाडा तिरेर रिजर्व गर्नु दुर्भाग्य रहेको सभापति गौतमले उल्लेख गर्नुभयो । पूर्वाधार निर्माणसँगै मानवीय सेवाका क्षेत्रमा पनि राज्य तथा अन्य सरोकारवाला निकायको लगानी हुन आवश्यक रहेको उहाँको भनाई रहेको छ । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्