आफूले पढेको विद्यालयका बालबालिकालाई अमेरिकाबाट सहयोग

बुधबार, पुस १०, २०८१

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -१० स्थित बालकल्याण माध्यमिक विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सहयोग गरिएको छ । 

सोहि वडा घर भई हाल अमेरिकामा रहनुभएका समाजसेवी प्रमोद ओलीको सहयोगमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । ओलीले आफ्नो जन्मदिनको अवसर पारेर बालकालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउनुभएको हो । 

विद्यालयका प्रधानाध्यापक खम्बबहादुर खत्रीका अनुसार विद्यालयका पूर्व बिद्यार्थी ओलीले उपलब्ध गराएको सहयोग एक कार्यक्रमका बिच बुधबार बालबालिकालाई वितरण गरिएको हो । बालबालिकाहरुलाई कापी र कलम उपलब्ध गराईएको हो । 

प्रधानाध्यापक खत्रीले कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीहरु र कक्षा ६ देखि ९ सम्मका असाहय, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो । 

सहयोगीदाता ओलीले आफ्नो दैनिक खर्च कटौती गरेर र फजुल खर्च जोगाएर आफूले अध्ययन गरेको विद्यालयमा अध्ययनरत भाईबहिनीहरुलाई सहयोग गरेको जानकारी दिनुभयो । आगामी दिनहरुमा पनि सक्दो सहयोग गर्ने उहाँको भनाई छ । 

शिक्षक अभिभावक संघका अध्यक्ष लिल बहादुर केसीको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा सहयोगीदाता ओलीका आमा भिमा ओलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन गोपाल गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्