सोसल मिडिया
रुकुम पश्चिमको चौरजहारी अस्पतालले हरेक वर्ष करोड बढी रकमको उपचार सेवा निःशुल्क गर्ने गरेको छ । अस्पतालमा सञ्चालित आमा सुरक्षा, साथी सेवा, परिवार नियोजन, क्षयरोग, कुष्ठरोग निवारण, बालबालिकाको उपचार लगायतका कार्यक्रममार्फत निःशुल्क सेवा प्रदान भईरहेको हो ।
अस्पतालले गरिब तथा विपन्न वर्गका बिरामीहरुलाई समेत उपचार सेवा निःशुल्क गर्ने गरेको जनाएको छ । चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीका अनुसार अस्पतालमा उपचारका लागि आउने बार्षिक करिब तीन हजार पाँच सय बढी बिरामीको उपचार निःशुल्क हुने गरेको छ ।
गत आर्थिक वर्ष ०८०/०८१ मा तीन हजार ५८३ बिरामीले उपचारमा ‘च्यारिटी’ अर्थात निःशुल्क सेवा पाएका छन् । यो उपचार सेवा दुई करोड २३ लाख ७१ हजार ५७७ रुपियाँ बराबरको हो । त्यसैगरी आर्थिक वर्ष ०७९८० मा तीन हजार ६८३ जनालाई एक करोड ७२ लाख ६१ हजार ८७७ रुपियाँ बराबरको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासक गिरीले सेवाभावबाटै चिनिएको अस्पताल भएकाले सेवा गुणस्तरिय, सरल र विपन्न वर्गको समेत पहुँचयोग्य बनाउन प्रतिबद्ध भएको बताउनुभयो । उहाँले अस्पतालमा भर्ना हुने पाँच वर्ष मुनिका बालबालिकाहको सबै उपचार सेवा निःशुल्क नै गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बार्षिक दुई हजार बालबालिकाको उपचार निःशुल्क हुने गरेको तथ्याङक अस्पतालमा रहेको छ । यसबाट करिब ९० लाख रुपियाँ खर्च हुने गरेको छ ।
यसैगरी अस्पतालले साथी सेवामार्फत १६ वर्ष मुनिका बालबालिकाहरुको मुटुको समस्याको उपचार खर्च बेहोर्ने गरेको छ । यस अन्तर्गत जलनको समस्या रहेका, जन्मजात अपाङगता भएका बालबालिकाहरुको जाँच, उपचार र थप रिफर सेवा पनि निःशुल्क नै हुने व्यवस्था मिलाईएको छ ।
आमा सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले अस्पतालमै सुत्केरी भएवापत दिने यातायात र प्रोत्साहन भत्तामा चौरजहारी अस्पतालले सुत्केरी महिला अस्पतालबाट डिस्चार्ज नहोउन्जेलसम्मको खर्च बेहोर्ने गरेको छ । यसका साथै नवजात शिशुको लागि न्यानो कपडा समेत अस्पतालले दिने गरेको छ ।
अस्पतालमा तथ्याङक अधिकृत घुर्क बुढाथोकीका अनुसार अस्पतालमा हुने सामान्य, जटिल र शल्यक्रियामार्फत हुने सुत्केरी सेवा निःशुल्क रहेका छन् । बुढाथोकीले आर्थिक वर्ष ०७८/७९ मा ९९३, ०७९/८० मा ९०८ र ०८०/८१ मा ८५३ महिलाले सुत्केरी सेवा लिएको बताउनुभयो । त्यसमध्य क्रमशः १३९, १२२ र १३५ जनाले शल्यक्रियामार्फत बच्चालाई जन्मदिएका हुन् ।
तथ्याङक अधिकृत बुढाथोकीले चालु आर्थिक वर्षको साउन महिनायता ३९० जनाले सुत्केरी सेवा लिएकोमा ७३ जनाको शल्यक्रिया गरिएको बताउनुभयो । यी सबैलाई अस्पतालमा रहेसम्म निःशुल्क उपचार गर्ने व्यवस्था रहेको छ ।
अस्पतालले रक्तदान सेवा समेत दिने गरेको छ । आकस्मिक र शल्यक्रिया गर्नुपर्ने बिरामीको ज्यान जोगाउन अस्पतालले रक्तदान सेवा सञ्चालन गरेको हो । यस मार्फत आर्थिक वर्ष ०७८/७९ मा १९ जनालाई ३० पिन्ट, ०७९/८० मा ८४ जनालाई १५१ पिन्ट र ०८०/८१ मा ७० जनालाई १२४ पिन्ट रगत अस्पतालले योगदान गरेको तथ्याङक अधिकृत बुढाथोकीले जनाउनुभयो ।
हाल रेडक्रसको चौरजहारी उपशाखाको समन्वयमा उक्त सेवा सञ्चालनमा रहेको छ । चौरजहारी अस्पतालबाट बार्षिक एक लाख बढी बिरामीले सेवा लिने गरेको बताईन्छ ।