सोसल मिडिया
सूचना, सञ्चार तथा विज्ञान र प्रविधिको अभुतपुर्व विकास भएको आजको युगमा माओवादी पार्टीका प्रत्येक कार्यकर्ताहरु समकालीन राजनीतिक पार्टीका सदस्य भन्दा कम सक्षम हुनुहुदैन । क्षमता, कार्य तत्परता र वैज्ञानिक प्रयोग कम्युनिष्टहरुका लागि महत्वपूर्ण बिषयहरु हुन् ।
तत्कालिन आवश्यकता र दीर्घकालीन लक्ष्य पुरा गर्न कार्यकर्ता नीति अवलम्वन गरिनुपर्दछ । पार्टीमा आवद्ध प्रत्येक कार्यकर्तामा पार्टीको नीति र योजनालाई आत्मसात गर्दै जनताको मुक्ती तथा समाजवाद निर्माण गर्न आइपर्ने कठिनाईसँग जुध्न सक्ने उच्च मनोबल र आँट हुनुपर्दछ । स्थानीय नेतृत्व तथा कार्यकर्ताहरु सत्य र न्यायको पक्षमा लड्ने वचन र कर्ममा विश्वास गर्ने जुझारु, संघर्षकर्ता, संगठनकर्ता, उत्पादनकतर्ता र प्रचारकर्ता बन्नु पर्दछ ।
फलामे अनुशासनमा पार्टीलाई आवद्धता गराउने र त्यसलाई बिधिको रुपमा बुझ्ने कार्यकर्ताको उत्पादन तथा निर्माण संघर्षको बिजयका लागी अनिवार्य शर्त हुन् । पार्टी भित्र चुन्ने/चुनिने, पार्टी बैठकहरुमा भाग लिने, भेला सम्मेलन तथा अधिबेशनहरुमा आफ्ना राय सुझावहरु दृढतापुर्वक राख्ने, कैयौ बैचारिक बिषयहरुमा बिना हिचकिचाहट र बिना दबाव स्वतन्त्रतापुर्व छलफल गर्ने, सारमा आफ्नो भनाई खुल्ला रुपमा राख्ने, जनताको सेवा, पार्टीको रक्षा र नेतृत्वको सुरक्षा गर्ने, आवश्यक परेमा बलिदानी गर्न समेत स्थानीय नेतृत्व र कार्यकर्ता उठ्नैपर्छ ।
यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पालिका अधिवेशन हुन गैरहेको छ । रुकुम पश्चिम जिल्लाका छ वटै पालिकाहरुमा एकै दिन पौष १३ र १४ गते हुन गैरहेको अधिवेशनले दिने सन्देश के हुने ? एजेन्डा के हुन सक्छन् ? भन्ने बिषय सामुन्ने आएको छ । हरेक कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्दछ । कार्यदिशा निश्चित भैसकेपछी त्यसलाई पुरा गर्न सहि र ‘डाइनामिक’ नेतृत्वको आवश्यक पर्दछ ।
हामी कहाँ नेतृत्वको क्रमबद्ध श्रंखला छ । तर पनि नेतृत्व निर्माणको प्रश्न जटिल बिषय हो । नेतृत्व रातारात जन्मदैन । लामो र जटिल प्रक्रियाबाट, संघर्षबाट र प्रयोगबाट नेतृत्व पैदा हुन्छ । त्यसैले नेतृत्व छनौट गर्दा इतिहास, क्षमता, वैचारिक स्पष्टता, राजनैतिक प्रतिबद्धता, समन्वयकारी, सुसंस्कृत, अनुशासन, दृढता आदी हेरिनु पर्दछ ।
प्रत्येक माओवादी कार्यकर्ताले गम्भिरतापुर्वक लिनुपर्दछ की अब अधिवेशनबाट आउने, निर्वाचित हुने नेतृत्व लेनिनवादी, सङ्गठनात्मक सिद्धान्त अनुसारको बिधिलाई आत्मसात गर्ने हुनुुपर्छ । मार्क्सवादी ज्ञान, अन्तरबिरोधलाई हल गर्न सक्ने क्षमता र बिनयशिल हुनुपर्दछ । प्रविधी साक्षर, कम्युनिष्ट संस्कृतीमा सम्बेदनशिल, जनअनुमोदित, विकास र समृद्धिलाई आत्मसात गर्न सक्ने कमिटी आजको अपरिहार्य आवश्यकता हो । गैर मार्क्सवादी चिन्तनका बिरुद्ध लड्नसक्ने जुझारु नेतृत्वले मात्र समाजमा रहेका बिद्यमान अन्तरबिरोधहरुलाई हल गर्न सक्छ ।
जनताका आजका आवश्यकता के हुन ? आवश्यकता पुर्तिगर्न पार्टी र सरकारको सम्बन्ध तथा भुमिका कस्तो हुने ? गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारको आवश्यतालाई सम्बोधन गर्न नीति निर्माणको तहमा पार्टीले निभाउनुपर्ने भुमिका र कार्यान्वयनलाई जनता र पार्टीलाई जोडेर लैजानु पर्दछ ।
पार्टीले लिएको सुशासन, विकास र समृद्धिको एजेन्डालाई आत्मसात गर्दै हाम्रो सरकारले गरेका जनपक्षीय कामलाई प्रचार गर्ने, श्रम संस्कृतीको विकास गर्ने, बस्तुको उत्पादन र बजारिकरण गरि आत्मनिर्भर बन्ने र बन्न उत्प्रेरित गर्ने खालको पार्टी नेतृत्व आउनु पर्दछ ।
हाम्रो पार्टी भित्र देखापरेका गैर सर्वहाराबादी, वर्गीय, निम्न पुँजीवादी चिन्तन र प्रवृती, ब्यक्तिवादी, सांगठानिक अराजकता, क्षेत्रीयता, संकिर्णता, गुटबाद, पदलोलुपता, नोकरशाहिपन, निरंकुश, जनताको सेवा भन्दा शक्ति आर्जन र हैकमवादी, खुला र हार्दिकता नहुने, छलफल, बहस, आलोचना र आत्मालोचना भन्दा एक अर्कालाई घोच्ने, सामाजिक रुपमा नङग्याउन बिरोधीहरुसँग कुम जोड्ने, शंकाले हेर्ने, घुर्की, धम्कि, चाकडी, चाप्लुसी, बार्गेनिङ, पद हाँसिल गर्न तछाड मछाड, आर्थिक अराजकता, सुबिधाभोगी, राम्रो जति सबै आफ्नो, बिग्रेको जति अरुलाई दोष दिने, आरोप प्रत्यारोप गर्दै आफ्नै पार्टीका उम्मेदवारलाई हराउन जालसाजी गर्ने आदि जस्ता प्रवृतिका बिरुद्ध दृढतापुर्वक संघर्ष गर्न अत्यावश्यक रहेको छ ।
निराशा, पलायनता, अकर्मण्यतामा फसेर होइन की क्रान्तिकारी जुझारु स्प्रीटलाई कायम गर्दै, हजारौ शहिदहरुको सपना र बलिदानलाई आत्मसात गर्दै, जनसम्बन्ध सुदृढ गर्न, पार्टी भित्र एकरुपता पैदा गर्ने, बैचारिक राजनीतिक, साँस्कृतिक आदि कार्यमा व्यापक सुदृढिकरण गर्ने, नियम र आचारसंहिता बनाएर सेल पार्टीसम्म सम्प्रेषन गर्ने, पार्टीको आयब्यय, भौतिक बस्तु वा संरचना, संस्थागत र सुरक्षा अनुगमन आदिमा जोड दिनु उत्तिकै जरुरी छ ।
श्रमजीवी, उत्पीडित जनताप्रति अगाध निष्ठा, जनतासँग घनिष्ट सम्बन्ध राख्न सक्ने, बुद्धिजिवी, पेशागत कर्मचारी, ब्यवसायी, मिडियासँग सौहार्दपूर्ण सम्बन्ध राख्न सक्ने, समस्याहरु आईपर्दा उचित निर्णय लिन सक्ने, आफ्नो जिम्मेवारीलाई युद्धकालिन स्प्रीट र दायीत्वका साथ पालना गर्न सक्ने, संघर्षको मोर्चाहरुमा दृढतापुर्वक लड्ने, पार्टी अनुशासन र सर्वहारा बर्गिय मान्यतालाई पालना गर्ने, सहिद परिवार, घाइते अपाङ्गता भएका योद्धा, कम्युनिष्ट भेट्रान लगायतसँग नियमित रुपमा भेटघाट गर्ने, कमिटी भित्र देखापर्ने समस्यालाई मैत्रीपुर्ण रुपमा हल गर्न सक्ने इमान्दार क्रान्तिकारीहरु अधिबेशनबाट निर्वाचित हुनु नै आजको समयको माग हो ।
- (लेखक ओली, नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।)