नेभिगेशन
राष्ट्रिय

सम्झना र गाजलु भन्छिन्,‘पक्की घर बनाउने र साना राउटेहरुलाई स्कुल पठाउने रहर छ’

केही समयअघिसम्म राउटेबारे गाउँघरतिर यसो भनिन्थ्यो– राउटेबस्ती वरपर एउटा सीमारेखा हुन्छ । त्यो सीमारेखाबाट कोही बाहिरिया भित्र पस्यो भने जीवनभरि नै राउटेसँगै उसको दास भएर बस्नुपर्ने हुन्छ । 

राउटेबारे अनेक सकारात्मक–नकारात्मक मिथक भएकाले बाहिरी समुदायका मानिस राउटेहरुसँग घुलमिल हुन डराउँथे, कुनै बेला । अब समय फेरियो, बुझाइ फेरियो । अचेल फरक समुदायका मानिसले राउटेसँग मितै लगाएका छन् र आगन्तुकका प्रिय साथी बनेका छन्– राउटेहरु ।

अहिले राउटेको बस्ती छ– सुर्खेतको रानीघाटनजिक जंगलमा । खोलाछेउ समथर जमिनको बस्तीमा छन्– एक सय चौतीस राउटेहरु । पुरूष ६१, महिला ७३ । खोला किनारमा बनेका ४३ वटा झुप्राले तिनलाई जाडोबाट जोगाएका छन् ।

राउटेहरु बिहान उज्यालोसँगै ब्युँझिन्छन् । उठ्नेबित्तिकै महिलाहरु घरको भान्सामा अल्झिन्छन्, पानी लिन धारा–खोला पुग्छन् । तर, पुरूषहरु कोशी, मधुस निर्माणमा लाग्छन् । कोही भने कोशी बनाउने काठको खोजीमा जंगलतिर छिर्छन् ।

प्रकृतिको काखमा रमाउँदै आएको मुखिया सूर्यनारायण, वीरबहादुर र नयाँ पुस्ता गाजलु, सम्झना र दिकासम्म आइपुग्दा यो समुदाय बढ्दो बजारीकरणको सामना मात्र गर्दै छैनन्, लोपोन्मुख सभ्यतामा आएको जोखिमलाई जोगाउन सामना पनि गर्दै छन् । राउटेबस्तीमा टिकटक बनाउनेदेखि पर्यटकका पथप्रदर्शक र फिल्म युनिटसम्म आउँछन् ।

बस्ती सारिरहने राउटे समुदायहरु आफन्त मर्ने स्थानलाई अशुभ ठान्छन् र बस्ती तत्काल सार्छन् । मुखियालाई समेत सल्लाह दिने धनबहादुर साही मुखिया भन्छन्, ‘बसिरहेको स्थानमा कोही सदस्यको मृत्यु भएमा तत्काल त्यो अशुभ स्थानबाट बस्ती सर्छौं । कहिलेकाहीं लामो समयसम्म बसेको स्थान फोहोर हुन्छ । त्यसपछि पनि सर्छौं ।’

धेरै बसाइँसराइमा रूचि नभएको बताउँछन्, केही युवा राउटे । सामाजिक सञ्जालमा चर्चित सम्झना भन्छिन्, ‘बूढो राउटेहरुले माने भने एकै स्थानमा पक्की घर बनाएर बस्ने रहर छ ।’ गाजलु थप्छिन्, ‘मैले भनेर हुने भए त म साना राउटेहरुलाई साँझ घर फर्कनु है भनेर स्कुल पनि पठाउँथें ।’

मागी विवाह गर्ने राउटे समुदायमा अहिले प्रेमविवाह पनि हुने गरेको गाजलु बताउँछिन् । बाहिरको समुदायसँग विवाह गर्न त वर्जित छ, तर यहाँ आफ्नो छाडेर अन्य दुई थरसँग विवाह गर्न छुट छ । वीरबहादुर मुखिया भन्छन्, ‘आफ्ना छोरी–चेली बाहिरको मानिसहरुसँग विवाह गरेर जाँदै जाँदैनन् । यदि गइहाले भने फर्केर आउन दिँदैनौं । कसैले जबरजस्ती लगे भने फर्काएर ल्याउँछौं ।’

जनावर नपाल्ने यो समुदाय अहिले कुखुराको चल्ला पाल्न थालेका छन् । मासु खान रूचाउने यो समुदाय अहिले बाँदरको सिकार गर्न अल्छी गरेर बजारबाट बोइलर कुखुराको मासु ल्याएर खान्छन् । आफ्नो समुदायको संख्या नगन्ने राउटेहरु आकाशदेखि डराउँछन् । देउताले सबै कर्म आकाशबाट देख्ने विश्वास बोकेका मुखियाका ठालु धनबहादुर शाही तन्नेरी राउटेहरुलाई अनैतिक हर्कत नगर्न खम्ची भाषामा सल्लाह पनि दिन्छन् ।

बाहिरी समुदायमा जस्तै यहाँ पनि पितृसत्ता हाबी छ । संख्याको हिसाबले पुरूषभन्दा बढी भए पनि यहाँका महिला कहिल्यै मुखिया भएका छैनन् र हुन पाउँदैनन् पनि । राउटेहरु भन्छन्, ‘राउटेको घर छैन, आइमाईको जात छैन ।’

मस्टो परम्परामा चल्ने यस समुदायको मुख्य चाड साउने संक्रान्ति र मंसिरे संक्रान्ति हो । ९ वर्षीया गुन्जा शाहीलाई चाडहरु खुबै मन पर्छ । वृक्षसँग मित लगाएकी उनी जंगललाई प्रेम गर्छिन् । उनको आँखामा हरियालीबाहेक केही देखिँदैन ।

वनसँगको अथाह प्रेम र वृक्षसँगको सुमधुर साइनोले एक दिन उनलाई वनको मुखिया बनाउनेछ । यस्तो लाग्छ– आदिवासी कवि जसिन्ताले उनकै लागि यो कविता लेखेका हुन् : वर्षात् उसको नाम राखियो / अनि ऊ प्रेममा / वृक्ष हुँदै गयो । - इकान्तिपुरबाट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय