आज तुलसी र दामोदरको विवाह

२०७८ कार्तिक २९

वर्ष दिनका चौबीस वटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा मानिने हरिबोधिनी एकादशी आज मनाईंदै छ । सामान्य बोलीचालीको भाषामा ठूलो एकादशी पनि भनिन्छ ।

आजको एकादशीलाई हिन्दु धर्मावलम्बीहरुले भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाउँछन् । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ । आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

कात्तिक महिनामा भगवान विष्णुलाई भक्तिपूर्वक गरिएको स्नान, दान, जप र होमले फल पाइने र विभिन्न पापबाट मुक्ति मिल्ने प्रसंग विभिन्न हिन्दुग्रन्थमा वर्णन गरिएको छ । आजका दिन काठमाडौँ उपत्यकाका चार वटा नारायण भक्तपुरको चाँगुनारायण, ललितपुरको विशंखुनारायण, काठमाडौँका शेषनारायण र इचङ्गुनारायणमा विशेष मेला लाग्छ ।

तर सबै ठाउँमा जान नसक्नेले बूढानीलकण्ठको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने जनविश्वास रहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्