नेभिगेशन
साहित्य

कथा : रूकुम ३६

सानो घरको भित्तामा अडेस लागेर फेसबुकको भित्तामा नजर डुलाउँदै थियो राजनब। घरि तल स्क्रोल घरि माथि। यो त फेसबुक प्रयोगकर्ता सबैको यस्तै हो क्यारे। यो लतले राजनबलाई पनि किन छोडोस्। यस्तैमा टक्क आँखा अडियो एक जना मात्र साझा साथी भएको नयाँ प्रोफाइलमा। नयाँ प्रोफाइलको नाम थियो- 'सोती बेनामी'।

सोती बेनामी?

अँ, सोती बेनामी।

राजनब आश्चर्यचकित भयो। नहोस् पनि कसरी नामै त्यस्तै थियो।

प्रोफाइल खोलेर हेर्यो। खोल्यो पृष्ठभूमि तस्बिर। कोट्यायो बायो। पढ्यो केही स्टाटस। हेर्यो केही फोटोहरू। ओहो! स्वर्गकी अप्सरा जस्ती। भावीले फुर्सदमा कुँदेर बनाएकी जस्ती। पानपाते ओठ, मृगका जस्ता नयन। साह्रै मनपर्यो उसलाई। केटी जाति नै पहिलोचोटि देखेको त होइन तर उसलाई त्यस्तै केही भएको थियो। युगौं सम्बन्धमा भएजस्तो। वर्षौं सँगै बिताएको जस्तो।

पहिलोचोटि मात्र त्यो पनि तस्बिरमा देखेको मान्छेप्रति किन यति आकर्षण बढेको हो यसको जबाफ स्वयम् राजनबसँग पनि थिएन। यही भाव आवेशमा अघि सर्यो दायाँ हातको बुढीऔँला। ट्वाक्क फ्रेन्ड रिक्वेस्टको बटन थिच्यो। रिक्वेस्ट धनुषवाणको तीर बनेर गयो। पुग्दानपुग्दै पलकभरमै रिक्वेस्ट एसेप्ट भयो। मुसुक्क मुस्कुरायो राजनब। म्यासेन्जरमा हरियो बत्ती बल्यो। पक्का भयो सोती बेनामी अनलाइन छिन्।

लेखिहाल्यो - हाई

म्यासेज सीन भयो तर जबाफ आएन।

फेरि लेख्यो - हेलो, सोती बेनामी 

फेरि म्यासेज सीन भयो तर जबाफ आएन।

घमण्डको घैला! ईर्ष्याले मुरमुरियो ऊ। कति घमण्डी केटी रहिछ, मनमनै यो अन्तिम चोटि हो भन्दै लेख्यो- नमस्ते, क्या साह्रो भाउ खाको। बोल्दैमा सानो भइँदैन नि हौ।

सोती बेनामीद्वारा म्यासेज फेरि हेरियो, फेरि पनि रिप्लाई आएन। इगोले चुर राजनबलाई लाग्थ्यो अनफ्रेन्ड गरेर ब्लक ठोकिदिम्। यसको थुतुनो फेरि देख्न नपरोस्। एकमनले सोच्यो तर भविष्यको मिठो कल्पनाले रोक्यो उसलाई। उसले सम्हाल्यो आफूलाई। निद्रादेवीको काखमा पल्टिने कोसिस गर्‍यो तर पटक्कै निद्रा परेन। रातैभरि उकुसमुकुस भयो उसलाई।

हररात जस्तै त्यो रात पनि बित्ने नै भयो। भोलिपल्ट बिहानै गएरातिको घटना आलो भएर आयो। म सुतेदेखि पो केही म्यासेज आयो कि? कतै त्यो फेसबुक एकाउन्ट फेक त होइन? मलाई त्यो मान्छेप्रति किन यति आशक्ति बढेको? राजनबले आफैलाई प्रश्न गर्दै नित्यकर्मको रूपमा फेसबुक खोल्यो। नभन्दै सोती बेनामीबाट म्यासेजको ओइरो आइरहेको थियो। पानीघट्ट जस्तै राजनबले पनि चपाउँदै गयो म्यासेजको ओइरो।  

'सरी ल'

'हिजो नेटले नै काम गरेन। के गर्नु आफू त दुर्गम रूकुमको परियो।'

'हामी जस्ताले के भाउ खानु हौ। तपाईं पो बरू ठूलो हुनुहोला।'

'अहिले पनि होमवर्क गर्नुछ। के गर्नु आफू त विद्यार्थी परियो, गरिबको जिन्दगी नि।'

यस्तै यस्तै, मस्तै।

एकैचोटिमा चिनजानको पर्दा उघारियो। पूरा परिचय पायो राजनबले। मन चंगा भयो उसको। मनकहाँ तनको काबुमा बस्छ र उड्छ यो त बायुपङ्खी घोडाजस्तै। उड्यो मन भुर्रर। तर्यो भेरी नदी मनले। एकैछिनमा छुट्यो जाजरकोट। पुग्यो रूकुम। बस्यो थपक्क सोतीको गाउँमा। के लेखूँ के लेखूँ भयो उसलाई।

लेख्यो - साह्रै खुसी लाग्यो।

'किन खुसी?'

'कुरा गर्न पाएकोमा।' जवाफ फर्कायो।

जवाफसँगै प्रश्न तेर्स्यायो- 'फेसबुकमा खास नाम किन नलेखेको? किन सोती बेनामी लेखेको?'

'कसैको खास बन्ने डरले' जवाफ आयो।

जवाफ आयो तर प्रश्न बोकेर। राजनबले पहिलोचोटि थाहा पायो सबै जवाफमा उत्तर नहुने रहेछ।

राजनबले पनि मनमनै फेसबुक नाम फेर्ने निर्णय लियो।

तत्काल निर्णय कार्यान्वयनमा गयो।

'राजनब विश्वकर्मा'लाई सच्याएर बनायो 'प्रेमिल राजनब'।

भर्खर अघिसम्मको 'राजनब विश्वकर्मा' 'प्रेमिल राजनब' भयो। खै कहिलेदेखि कुन प्रसङ्गमा कुन नामबाट भएकी थिई ऊ 'सोती बेनामी'।

*** 

पुस १४। जाजरकोट रमाइलो मेला। यही मेलामा प्रेमिल राजनब र सोती बेनामीले पहिलो भेटको योजना बनाए। योजना बनाउन सजिलो थियो तर भेट्न मुस्किल। सोती बेनामी भेरी तरेर पुग्नुपर्ने थियो रमाइलो मेला। बस्नुपर्ने थियो उतै बास। मुस्किलले घरमा कुरा मिलाई र हिँडी एकाबिहानै भालेको डाकोसँगै। उता राजनबलाई भने घरबाट निक्लिन त्यति गाह्रो थिएन। झन् अस्तिन नेपाल प्रहरीको शारीरिक परीक्षण परीक्षा पास गरेर हुनेवाला प्रहरी भएपछि उसको सानमानै बेग्लै भएको थियो।

हजारौंको भिडमा राजनबका आँखाले एउटा मान्छे खोजिरहेका बेला पछाडिबाट कसैले उसको एकाग्रता भङ्ग गर्दै बोलायो - ए, दाइ?

राजनबले पछि फर्केर हेर्यो। राजनबकी गाउँले बहिनी पूजा पो रहिछे। ऊ अचम्ममा पर्यो। अच्चमित हुनुको कारण भने बहिनी पूजालाई देखेर होइन। पूजासँगै थिई राजनबको स्वर्णिम सपना सोती बेनामी। सोती बेनामी र प्रेमिल राजनबकी बहिनी पूजा त पहिले देखिकै मिल्ने साथी पो रहेछन्। अहोभाग्य! राजनबलाई सजिलो भयो। सोती बेनामीको मुटुसम्म पुग्न भर्याङ बनेर आइपुगी पूजा बहिनी। जे हुनु थियो त्यो त फेसबुक र फोनबाट भैसकेको थियो। ता पनि परिचयको शृङ्खला जारी रह्यो।

'तपाईंको खास नाम के हो ?' प्रेमिल राजनबले सोध्यो।

'मेरो नाम सोती बेनामी हो।' विश्वास लागेन?

लाग्यो तर यो उपनाम होला। खास नाम भन्नु न।

'मेरो खास नाम नै यही हो।' सोती बेनामीको जबाफ।

'सोती र बेनामीको अर्थ होला नि?'

'सोती' मेरो जन्मभूमि, 'बेनामी' मेरो भविष्य।

बेनामी हुने भविष्यको योजना?  प्रेमिल राजनबले फेरि प्रश्न सोध्यो।

'बेनामी हुने पनि कसैको योजना होला त! यो त मेरो भाग्य पो हो।' उनको जबाफले झन् प्रेमिल राजनबलाई रिंगटा छुट्यो। झनझन प्रश्न गर्दै जाँदा उसलाई झनझन बुझ्न कठिन भएजस्तो भयो। प्रश्न गर्न छोड्यो तर मनमा प्रश्न अड्डिरह्यो। सोती? बेनामी?

रमाइलो मेलामा हजारौँ मान्छे हुँदा हुन्। प्रेमिल राजनबको आँखा सोती बेनामी भन्दा बाहिर गएनन्। सोती बेनामीको आँखा पनि प्रेमिल राजनबमै गडेका थिए। त्यो दिन पलकभरमै बितेजस्तो लाग्यो। साँझ दिन डुब्ने बेलामा गाँसबासको बारेमा छलफल चल्यो। नवगठित प्रेम सभाले पारित गर्यो जाजरकोट खलंगा प्रेमिल राजनब र पुजा बहिनीको गाउँ जाने योजना। मेला हिँडेकी सोती बेनामी हिँडी प्रेमीको गाउँ। हिँडी साथीको घर। बोकेर सुन्दर सपनाको भारी।

***

रमाइलो मेला हप्ता दिन चल्यो। हप्तैदिन चल्यो राजनब, सोती बेनामी र पूजा मेला जाने र घर आउने क्रम। दुबैलाई लागेको थियो मेला अझै चलोस् तर सकियो। मेलाको अन्तिम दिन मध्यराति आकाशमा टहटह जून लागिरहेको थियो। त्यस्तै जून प्रेमिल राजनब र सोती बेनामीको मनमा पनि लागेको हुँदो हो सायद। दुबैलाई उकुसमुकुस भएको थियो। यौवनले शान्त पार्नुपर्ने राजनबको मनलाई जूनको शितलताले के शान्त पार्नु। उठ्यो जुरुक्क। लगायो कपडा। मुखमै पर्नेगरी मोबाइलको टर्च बालेर ऐनामा आफूलाई चियाउने कोसिस गर्यो। छर्यो अत्तर शरीरमा। सुस्तरी ढोका खोल्यो।  निक्लियो बाहिर। हिँड्यो अदम्य साहस बोकेर युद्ध मैदान हिँडेको सिपाहीझैँ। सरासर गयो बहिनी पूजाको घर।  ढकढक ढकढक ढोका हान्यो।

दुर्भाग्य! ढोका ढकढकाएको सुन्नुपर्ने प्रेमिकाले थियो। सुनी बहिनीले। पूजाले ढोका खोल्दा बाहिर लाचार शैलीमा उभिएको दाइलाई देखी। पूजा इन्तु न चिन्तु भई। अवाक् भई पूजा। भित्र गएर सोती बेनामीलाई भनी - 'एकछिन बाहिर जाऊ रे, दाइले भन्नुहुन्छ।'

सोती बेनामीको खुसीको सीमा रहेन। आफूलाई सम्हाल्ने प्रयत्न गरी अनि उस्तै लाचार भएर बाहिर निक्ली।

त्यसपछि के भयो ?

त्यसपछि.............।
                                ***
त्यसपछि कयौं भेट भए। सयौं बसाइ भए। होटलका कोठा कोठाले उनीहरूलाई चिन्न पाए। चोक-चौतारीले देख्ने नदेख्ने देख्न पाए। समयका लहराहरू तन्किँदै गए। दिन बिते। रात बिते। हप्ता बिते। बिते महिनौं महिना।

एकदिन सोती बेनामीले प्रस्ताव गरी - अब हामी बिहे गरौं। 

अकस्मात बिहेको कुराले राजनब झस्क्यो। ऊ सोती बेनामीसँग बिहे गर्नुपर्ने कुराले झस्किएको होइन। बरू ऊ त एक्कासि आएको बिहेको प्रस्तावले झस्किएको थियो।

सोती बेनामीसँग घरबार बसाउने सपनासँगै नेपाल प्रहरीमा जागिर खाएर देशको सेवा गर्ने सपना पनि थियो ऊसँग।

जबाफमा प्रेमिल राजनबले भन्यो- सल्लाह गरौंला। पहिले मलाई प्रहरीको सपना पूरा गर्न देऊ त्यसपछि प्रेमको सपना पूरा गरौंला। प्रेमिल राजनबको कुराले सोती बेनामी पनि झस्की तर केही भनिन। बरू प्रसंग बदलेर सोधी- एउटा कुरा सोध्छु नरिसाउने भए।

'तिमीले सोध्ने र म रिसाउने पनि हुन्छ त! सोध न के के सोध्नुछ।' राजनबले बाटो खोलिदियो।

'तपाईंको नाम 'प्रेमिल राजनब'को अर्थ के हो?'

'तिम्रो बेनामी नामजस्तै हो मेरो बेअर्थी नाम। जसको कुनै अर्थ छैन। अर्को रहस्यमय जबाफ फर्कायो राजनबले।

उसले सोचेको थियो आफ्नो कुरालाई प्रेमिकाले मजाक ठान्ली।

सोती बेनामीले भनी - कस्तो कुजाति कुरा गरेको। बिना अर्थको पनि नाम हुन्छ त?

यति भनेर ऊ खित्त हाँसी। यसपटक उसको हाँसोले प्रेमिल राजनबको मुटुमा गहिरो चोट पुर्यायो। आँखा राता भए उसका। कान ताता भए उसका। 'कुजाति कुरा' यो शब्द सोती बेनामीले एकचोटि मात्र भूकम्प आउनेगरी बोलेकी हो। तर यसको परकम्पका झड्काहरू उसको मन र मस्तिष्कमा बारबार आइरहे। यदि यो जोडीको प्रेम सम्बन्ध सफल भए मूना मदनको भन्दा कम हुन्थेन होला, कृष्ण र राधाको भन्दा कम हुन्थेन होला, लैना मज्नुलाई पनि मात खुवाउँथ्यो होला। तर वर्षदिन बित्दानबित्दै प्रेमका लहराहरू सुक्दै गए। बिछोडका लहराहरू झांगिँदै जान थाले।
                                   •
एकदिन सोती बेनामीले फेसबुकमा अफलाइन म्यासेज छोडी - सरी ल, मलाई माफी देऊ

'भन्नाले?' प्रेमिल राजनबले लेख्यो।

'हाम्रो यात्रा यहीँ सकिन्छ।'

जवाफमा राजनबले लेख्यो - म साँझ लिन आउँछु।

'?'

'सके तिमीलाई लिन आउँछु। नसके बदला लिन आउँछु।'

'अब नआउनू, अब नभेट्नू।'

राजनब नि:शब्द भयो। कारण सोध्न चाहेन कि उपयुक्त ठानेन कुन्नि केही सोधेन उसले।

फेरि उही कुरा दोहोर्यायो - सके तिमीलाई लिन आउँछु। नसके बदला लिन आउँछु। साँझ आउँछु।'

सोती बेनामीले विषयलाई त्यती गम्भीर हिसाबले लिइन।

मात्र लेखी - '....................'।

२०७७ जेठ १० गते राति। त्यसराति भेरी नदी बेस्सरी सुस्सायो। सानीभेरी र ठूलीभेरीबीच ठूलै युद्ध भएजस्तो सुनिन्थ्यो। राति अबेरसम्म सोती गाउँदेखि भेरी नदीको तीरसम्म चर्कोचर्को आवाज आइरहेको थियो। कोही 'समात् समात्' भनिरहेका थिए। कोही 'नछोड् नछोड्' भन्दै थिए। 'बचाऊ बचाऊ' भन्थे कोही, कोही भेरीको पानीमा डुबेर पनि 'पानीपानी' भन्दै चिच्याइरहेका थिए।

तँ चुच्चे नाके, तँ थेप्चे नाके, तँ बुच्चो नाके..........। यस्तै केही भन्न खोजेका होलान् सायद सुन्नै नसकिने शब्दहरू पनि सुस्तसुस्त सुनिरहेका थिए। उता पर कतै नेपथ्यबाट आवाज आइरहेको थियो - 'जात व्यवस्था मुर्दावाद। हाम्रो प्रेम अमर रहोस्।'

***

भोलिपल्ट बिहान भेरी नदीमा पूरै सन्नाटा छायो। बगिरहेको पानी पनि रोकिएको हो कि जस्तै सुनसान थियो भेरी नदी। सधैं कन्चन निलो बग्ने भेरी नदी रातो बगिरहेको थियो। उस्तै रातो जति रातो ब्रह्माण्डका सबै मान्छेको शरीरबाट रगत बग्छ। रातो नदीको छेउमा चार जात छत्तीस वर्णका जस्ता देखिने फरकफरक आकारप्रकारका ढुंगाहरू थिए। ढुङ्गाहरू भनिरहेका थिए - 'थुक्क चेतनशील मानवजाति, थुक्क तिम्रो जात व्यवस्था, बिचरो वीर गोर्खालीको इतिहास।'

भेरीमा लैलै लैलै गर्दै लासहरू बगिरहेका थिए। कोही चुच्चो, कोही थेप्चो र कोही बुच्चो समेत नाक भएका पाँच वटा लासहरू भेरीको पानीमा तैंरिरहेका थिए। यसरी तैंरिरहेका थिए; सायद ती लासहरूलाई भेरीले बगाउन मानिरहेको छैन। पछिपछि अर्को मानव शरीर आयो। त्यसले क्याप क्याप गर्दै कि प्राण देऊ कि प्रेम देऊ भनिरहेको थियो। यसको नाक काट्टिएको थियो। नाक काट्टिएको शरीर प्रेमिल राजनब उर्फ राजनब विश्वकर्माको थियो। प्राण मात्र बाँकी रहेको राजनबको शरीरले थरथर कपाउँदै चोर औँला अघि बढायो। छेवैमा रहेको बगरको सेतो ढुंगामा आफ्नै मुटुबाट चुहिरहेको रातो रगतले लेख्यो - 'रूकुम ३६?'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य

कथा : भूतसँगको भेट !

बाँफिकोटको सम्झनामा

कविता : स्यार्पुको रङ्ग 

कविता : त्यो युद्ध र सपनाहरु

कविता : प्रिय कर्णाली !

कविता : छोरा तिमी पुलिस बन !