सोसल मिडिया
सशस्त्र प्रहरी बल नेपाल ४७ नम्वर गुल्म रुकुम पश्चिमले विद्यालयस्तरमा हिमपात र शीतलहरबारे सचेतना अभियान सञ्चालन गरेको छ ।
२४ औं सशस्त्र प्रहरी दिवसको अवसर पारेर सचेतना अभियान सुरु गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक मदन धानुकका अनुसार बालबालिकालाई चिसोबाट जोगाउन विद्यालयस्तर सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । बिहिबार मुसिकोट नगरपालिका –५ मा रहेको यमुनानन्द नमूना माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
बढ्दै गएको चिसोसँगै हिमपात र शीतलहरबारे जानकारी दिदैं यसले पार्ने असर र बच्ने उपायहरुबारे विद्यार्थीहरु बिचमा सचेतना दिईएको हो । सशस्त्र प्रहरी निरीक्षक झक्कु प्रसाद शर्मा, सशस्त्र प्रहरी नायब निरीक्षक मधु गौतमले हिमपात र शीतलहरले जनजीवनमा पार्ने असर र यसबाट बच्ने उपायहरुबारे सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत एक सय बढी बिद्यार्थीहरु सहभागि भएको बताईएको छ ।
दिवसको अवसरमा आज एक विद्यालयबाट सुरु गरिएको सचेतना कार्यक्रम जिल्लाका अन्य विद्यालयहरुमा समेत सञ्चालन गर्ने योजना रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक धानुकले जनाउनुभयो । दिवसकै अवसरमा बुधबार मुसिकोट नगरपालिका ५ मा रहेको प्रशिद्ध धार्मिक तथा पर्यटकियस्थल डिग्रे मन्दिर परिसरमा सरसफाई गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर रक्तदान कार्यक्रम समेत सञ्चालन गर्ने तयारी रहेको सशस्त्र प्रहरी बल नेपाल ४७ नम्वर गुल्म रुकुमपश्चिमले जनाएको छ ।
सशस्त्र प्रहरीले यस अघि जिल्लाका विभिन्न विद्यालयहरु तथा समुदायमा जलउत्पन्न प्रकोप, लागु पदार्थ दुव्र्यशन लगायतका बारेमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।