शिक्षा योजना

शिक्षा योजनाका लागि सुझाव संकलन गर्दै भूमे गाउँपालिका 

शुक्रबार, पुस १९, २०८१

रुकुम पूर्वको  भूमे गाउँपालिकाले पालिकाको शिक्षा योजना निर्माणका लागि सरोकारवालाहरुसंगको सूझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ ।

शूक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरि पालिकाले शिक्षा योजनामा स्थानीय सन्दर्भ समाबेश गर्न सरोकारवालाहरुसंगको सल्लाह, सुझाव तथा पृष्ठपोषणको संकलन गरेको हो ।

पालिकाले नेपाल सरकारले तयार गरेको बर्तमान बिद्यालय शिक्षा क्षेत्र योजना (SESP) लाई स्थानीयकरण गर्न १३ सदस्यिय कार्यदल गठन गरि योजना निर्माणको कार्य गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष तथा योजना निर्माण कार्यदलका संयोजक होम प्रकाश श्रेष्ठका अनुसार योजनालाई बस्तुनिष्ठ, तथ्यमा आधारित र कार्यान्वयनयोग्य बनाउनका लागि कार्यदलले कार्य गरिरहे र यो योजनामा सरोकारवालाहरुको सल्लाह तथा सुझाव महत्वपूर्ण हुने भएकोले शिक्षामा सरोकारवालाहरुको उपस्थितिमा सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख कौशल तिवारीले कार्यदलले तयार गरेको शिक्षा योजनाको प्रस्तुति गर्नुभएको थियो । मस्यौदाको प्रस्तुति पश्चात सहभागिले सल्लाह, सुझाव तथा पृष्ठपोषण गरेका थिए । 

कार्यक्रमका सहभागिले शैक्षिक गुणस्तर सुधार, बिद्यालयमा अभिभावको सहभागिता सुनिश्चितता, अभिभावक शिक्षा, सबै बालबालिकाको बिद्यालयमा नियमित उपस्थितिका लागि स्मार्ट ट्राकिङ प्रणालि, बिद्यालय स्वास्थ्य तथा सुरक्षित बिद्यालय, नमूना बिद्यालय विकास, जनप्रतिनिधिहरुको बिद्यालयमा सहभागिताका कार्य, ब्यवस्थित र एकरुप परिक्षा प्रणाली साथै बिद्यालय नर्स कार्यक्रम जस्ता बिषयलाई योजनामा समाबेश गर्न सुझाव दिएको शिक्षा शाखा प्रमुख कौशल कुमार तिवारीले बताउनुभयो । 

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले तयार गरेको स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धी मार्गदर्शन २०७९ र तथ्यांक बिश्लेषणका लागि तयार गरेको टुलकिटलाई आधार मानी शिक्षा योजना निर्माण भैरहेको समेत अधिकृत तिवारीले बताउनुभयो ।

कार्यक्रमको समापन मन्तब्य राख्दै अध्यक्ष श्रेष्ठले योजना निर्माणका क्रमममा सरोकारवालाहरु सबैले पालिकाको शैक्षिक विकास र गुणस्तर सुधारका लागि निरन्तर सुझाव प्रदान गर्नका लागि समेत अनुरोध गर्नुभएको छ । प्राप्त ठोस र प्रभावकारी सुझावहरुलाई योजनामा समाहित गर्दै क्रमश कार्यान्वयनमा लगिने समेत अध्यक्षले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देबिलाल बिक, बिभिन्न वडाका बडाध्यक्षहरु, पालिकाका बिभिन्न शाखाका प्रमुखहरु, प्रधानाध्यापक तथा शिक्षकहरु, पत्रकार, बिद्यालय ब्यवस्थापन समितिका प्रतिनिधि, यूवा संजालका प्रतिनिधि, बालविकासका प्रतिनिधि र कालिका स्वाबलम्बन सामाजिक केन्द्र कपिलबस्तुका प्राबिधिक अधिकृत केशव बिसी लगायतको सहभागिता रहेको थियो ।

कालिका स्वाबलम्बन सामाजिक केन्द्र कपिलवस्तु र यूनिसेफ/यूरोपियन यूनियनले गुणस्तरिय सिकाईका लागि स्थानीय तहको शिक्षा योजना तथा बजेट निर्माणमा क्षमता अभिबृद्दि कार्यक्रम मार्फत पालिकासंग योजना निर्माणका लागि साझेदारी तथा प्राबिधिक सहयोग गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २२:४७
प्रतिक्रिया दिनुहोस्