सोसल मिडिया
रुकुम पश्चिममा सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमले बिरामीहरुलाई सहजता र अस्पताललाई समस्या भएको बताईएको छ । बिमाले बिरामीलाई उपचार खर्चमा राहत भएको हो भने अस्पतालले भुक्तानी नपाउँदा समस्या भएको हो ।
स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाका छ वटै पालिकाका २० हजार ८८४ घरधुरीका ८५ हजार ७८८ जनाको स्वास्थ्य बिमा गरिएको छ । बोर्डका जिल्ला संयोजक कमल डाँगीका अनुसार जिल्ला अस्पताल सल्ले, चौरजहारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारी, सहिद स्मृति नगर अस्पताल चौरजहारी, आठबिसकोट नगर अस्पताल र सानीभेरी गाउँपालिका अस्पतालमा प्रथम सेवा बिन्दु कायम गरेर स्वास्थ्य बिमा गरिएको छ ।
यी अस्पतालबाट बिरामीहरुले सेवा लिने गरेतापनि अस्पतालले भने सरकारबाट नौ करोड १८ लाख ६१ हजार रुपियाँ भुक्तानी नपाएको बताईएको छ । जिल्ला अस्पताल सल्लेका प्रमुख डा. महेश चौलागाईका अनुसार स्वास्थ्य बिमा वापतको करिब एक करोड २५ लाख रुपियाँ भुक्तानी पाउँन बाँकि रहेको छ । अघिल्लो आर्थिक वर्षकै २३ लाख रुपियाँ भुक्तानी भएको छैन र भने चालु आर्थिक वर्ष ०८१/०८२ को पनि रकम पाईएको छैन ।
स्वास्थ्य बिमा मार्फत सबैभन्दा बढी उपचार सेवा लिने चौरजहारी अस्पतालले पनि पाँच करोड ५३ लाख ६२ हजार ३८६ रुपियाँ पाउन बाँकि रहेको जनाएको छ । अस्पताल प्रशासक डिलबहादुर गिरीका अनुसार गत बैशाख देखि हालसम्मको रकम नपाउँदा अस्पताललाई समस्या हुन थालेको छ । अस्पतालका १२५ जना कर्मचारीहरुले तलब समेत पाउन नसकेको उहाँले जनाउनुभयो । चौरजहारी अस्पतालमा बार्षिक एक लाख बढी बिरामीले सेवा लिने गरेको र त्यसमध्य ७४ प्रतिशतले स्वास्थ्य बिमा मार्फत सेवा पाउने गरेको अस्पतालको तथ्याङक रहेको छ ।
चौरजहारीकै सहिद स्मृति नगर अस्पतालमा गत बैशाख महिनादेखि हालसम्मको ५५ लाख ६४ हजार ४३५ रुपियाँ भुक्तानी भएको छैन भने प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा २६ हजार पाँच सय भुक्तानी बाँकि रहेको छ ।
त्यसैगरी आठबिसकोट नगर अस्पतालमा पनि हालसम्म एक करोड ५१ लाख रुपियाँ भुक्तानी हुन बाँकि छ । सानीभेरी गाउँपालिका अस्पतालमा पनि गत बैशाख महिना देखि हालसम्मको ३३ लाख सात हजार ७१४ रुपियाँ भुक्तानी हुन बाँकि रहेको अस्पताल प्रमुख कर्णबिर केसीले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक कमल डाँगीले ०७४ साल जेठ १ गतेदेखि सञ्चालित यो कार्यक्रम जनस्तरमा प्रभावकारी देखिएको बताउनुभयो । उहाँका अनुसार सरकारले जेष्ठ नागरिक, ‘क’ वर्गको अपाङगता भएका व्यक्ति, एचआईभि संक्रमितलाई स्वास्थ्य बिमा निशुल्क गरेको छ भने महिला स्वयमसेविकाहरुलाई ५० प्रतिशत छुटमा स्वास्थ्य बिमा गरिदिने गरेको छ ।
उहाँका अनुसार रुकुमपश्चिममा चार हजार ९८० जना जेष्ठ नागरिक, १८४ जना अपाङगता भएका व्यक्ति र ६२ जना एचआईभि संक्रमितको स्वास्थ्य बिमा निशुल्क र १२४ महिला स्वास्थ्य स्वयमसेविकालाई शुल्कमा ५० प्रतिशत छुट दिईएको छ ।