सोसल मिडिया
रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ छिप्रिदहमा सम्पन्न श्रीमदभगवत महापुराण सप्ताह ज्ञान महायज्ञको आय ब्यय विवरण सार्वजनिक गरिएको छ ।
शनिवार छिप्रिदहमा पत्रकार सम्मेलन गरि बिन्द्यावासिनी भगवती मन्दिर सेवा समितिले उक्त महायज्ञको आय ब्ययको विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा आयोजक समितिका सचिव प्रचण्ड मल्लले महायज्ञको आय ब्ययको बिषयमा धेरैको चासोलाई सम्बोधन गर्न र समितिको पारदर्शितालाई कायम गर्न पत्रकार सम्मेलन मार्फत आयब्ययको सार्बजनिक गरिएको बताउनुभयो । उहाँले महायज्ञ संचालनका क्रममा बिभिन्न दाताहरुले गर्नुभएको सहयोगको बिस्तृत बिवरण, खर्च शिर्षक र रकम सार्वजनिक गर्नुभयो ।
प्रतिबेदन अनुसार ३५० जना दाताहरुबाट जम्मा २१ लाख ७८ हजार ३५० संकलन भएको छ । जसमध्ये १० लाख ४ हजार महायज्ञ ब्यवस्थापनको जिम्मा लिएको पक्षलाई सम्झौता अनुसार भुक्तानि भएको छ भने ३ लाख २ हजार ८३५ महायज्ञको पुजा सामग्री, कथावाचक टिमसंग खटिएकाहरुको होटेलबास, प्रचारप्रसार तथा इन्धन, पानी तथा बिजुली र सम्मानपत्रमा गरि जम्मा १३ लाख ६ हजार ८३५ रुपियाँ खर्च भएको छ । महायज्ञबाट आठ लाख ७१ हजार ५१५ रुपियाँ वचत भएको छ । महायज्ञका क्रममा मन्दिरको विकासका लागि सिस्ने गाउँपालिका ६ का भिमकान्त उपाध्यायले १ रोपनी, खिमानन्द गौतमले १ रोपनी, बदम कुमारी गौतमले ५ सय बर्गमिटर र अनन्त देबकोटाले ३ सय वर्गमिटर जग्गा समेत दान गरेको बताइएको छ ।
रुकुमकोट छिप्रिदहमा रहेको बिन्द्यावासिनी भगवती मन्दिरको भौतिक पूर्वाधार विकास र पुननिर्माणका लागि बिन्द्यावासिनी भगवती मन्दिर सेवा समिति रुकुमकोटले गत मंसिर १८ गतेदेखि २८ गतेसम्म धार्मिक महायज्ञको आयोजना गरेको थियो ।
समितिका अध्यक्ष चन्द्र बहादुर मल्लले मन्दिरको भौतिक पूर्वाधार विकास र भौतिक निर्माणका लागि सहयोग पुग्ने भएकाले महायज्ञको आयोजना गरिएको र दाताहरुबाट संकलित रकमलाई प्रभावकारी रुपमा योजना बमोजिमका कार्यहरुमा खर्च गरिने बताउनुभयो । कार्यक्रममा अध्यक्ष मल्लले पत्रकार तथा सहभागिको जिज्ञासालाई समेत सम्बोधन गर्नुभएको थियो ।