सोसल मिडिया
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही लगायतको टोलीलाई स्वागत गरिएको छ ।
आठबिसकोट नगरपालिका प्रमुख रबि केसीले नगर कार्यपालिकाको कार्यालयमा नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य एवम् कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मान बहादुर नेपाली, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजिव बिक्रम शाह, जलश्रोत तथा उर्जा विकास मन्त्री बिजया बुढा, कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओली लगायतका नेताहरुलाई स्वागत गर्नुभएको हो ।
स्वागतको क्रममा नगर प्रमुख केसीले नगरपालिकाको विकासको अवस्था र आवश्यकताको बारेमा जानकारी गराउनुभएको थियो । केसीले भूकम्प प्रभावितहरुको अवस्था, दोश्रो किस्ता समेत नपाएको, पुनर्निर्माणको चरण सुरु हुन नसकेको, केहि विकासका आयोजनाहरु अपुरा रहेको जानकारी गराउनुभयो । नगर प्रमुख केसीले भूकम्प पीडितलाई दोश्रो किस्ताको रकम निकाशा, पुनर्निर्माणको सुरुवाती, दिगो विकास, जिविकोपार्जन, बरोजगारी लगायतका समस्याको बारेमा पहलकदमी गरिदिन आग्रह गर्नुभयो ।
यस अवसरमा कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले आठबिसकोट नगरपालिकाले उच्च संस्कार देखाएर स्वागत गरेको बताउनुभयो । उहाँले विगतमा राजनीतिक लडाई गरिएको र अब दिगो विकासको लागि प्रतिश्पर्धा गर्न आवश्यक रहेको जनाउनुभयो ।
उहाँले पार्टीका सैद्धान्तिक कुराहरुलाई आत्मसाथ गर्दै जनताको जीवनस्तर उकास्न कुरा मात्र नभई काम गर्न आवश्यक रहेको बताउनुभयो । भूकम्प पीडितहरुको सवालमा आफूले प्राथमिकताका साथ पहलकदमी लिने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्व मुख्यमन्त्री शाहीले नयाँ नयाँ प्रविधिको खोजी गर्दै हिँडेको युवापुस्तालाई स्वरोजगार बनाउन अत्यावश्यक रहेको बताउनुभयो । आठबिसकोट क्षेत्र र समग्र रुकुम पश्चिमको माग र आवश्यकताको लागि नेपाली कांग्रेस र आफ्नो पहलकदमी रहने उहाँको भनाई छ ।