सशस्त्र द्वन्द्वको उद्गमस्थलबाटै विकासको मूल फुटाउन चाहेका छौ : पूर्व मन्त्री शाही

'माफियाहरुले वायु सेवा निगम डुबाउन लागे'
आइतबार, पुस २१, २०८१

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशबाट विकासको मूल फुटाउन खाजेको बताउनुभएको छ । 

आईतबार रुकुम पश्चिमको मुसिकोटमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहनुभएका शाहीले कर्णालीको जल, जमिन, जङगल, जडिबुटीमार्फत समृद्धि हाँसिल गर्न सकिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले सशस्त्र द्वन्द्वको उद्गमस्थलका रुपमा परिचित मध्यपश्चिम क्षेत्रको कर्णालीबाट विकासको मूल फुटाउन सम्भव रहेको दाबी गर्नुभयो । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस संसदिय दलको नेता समेत रहनुभएका शाहीले कर्णाली प्रदेशको रुकुमपश्चिम जिल्लामा सबैभन्दा बढी बजेट बिनियोजन हुने गरेको तर कार्यान्वयनमा एक पक्ष मात्र हाबी हुँदा जनताले विकासको समान अनुभूति गर्न नपाएको बताउनुभयो  । 

उहाँले कर्णालीको विकासको नेतृत्व काँग्रेसले मात्र गर्न सक्ने दाबी गर्नुभयो । विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्वको जनताले माग गरिरहेको उहाँको भनाई छ । कांग्रेस जनताको पार्टी भएकोले जनताका समस्या, गुनासा सुन्दै जनताका आवश्यकताहरू पूरा गर्न तर्फ गम्भीर रहेको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भूकम्प प्रभावित क्षेत्रमा तत्काल पुनर्निर्माण कार्य सुरु हुने जानकारी दिनुभयो । मन्त्रीपरिषदमा पेश भएको पुनर्निर्माण कार्यविधि सरकारले चाँडै नै पास गर्ने तयारी गरेको बुझिएको उहाँले उल्लेख गर्नुभयो । अब विगतको विपद्बाट केहि सिकेर नयाँ निर्माणको चरणलाई अवसरका रुपमा लिन समेत उहाँले आग्रह गर्नुभयो । 

वाईडबडी जहाज खरिद प्रकरणमा पूर्व मन्त्री शाहीले अन्तराष्ट्रिय हवाई माफियाहरु लागेर नेपाल वायु सेवा निगम डुबाउन खाजेको बताउनुभयो ।  नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिका सदस्य समेत रहनुभएका नेता शाहीले वाइडवडी जहाज खरिद प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधेर मुद्धा लगाईएको तर न्यायलयबाट सफाय पाएको बताउनुभयो । 

आफु पर्यटन मन्त्री हुनुभन्दा अगाडि नै टेण्डरको काम सुरु भएको र मन्त्रीबाट हटिसकेपछि खरिद भएको जहाजका बिषयमा आफुलाई फसाउन खोजिएको उहाँको भनाई छ ।

करिब नौ महिना निलम्बनमा परेको र अदालतबाट सफाय पाईसकेपछि कर्णाली फर्कदा जनताको न्यानो माया र आत्मियताको निमन्त्रणामा दश जिल्ला भेटघाटमा निस्किएको उहाँले जानकारी गराउनुभयो । आफ्नो राजनीतिक लोकप्रियता बर्वाद पार्न र पार्टीलाई कमजोर बनाउन रचिएको षड्यन्त्रको जाल चिरेर न्यायलयले न्याय दिएको उहाँको भनाई छ । 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्