सोसल मिडिया
रुकुम पश्चिमको आठबिसकोटमा भूकम्पले क्षति गरेका चार सडक स्तरोन्नती गरेर हस्तान्तरण गरिएको छ ।
आठबिसकोट नगरपालिका वडा नम्वर ११ को तुसारे देखि गोईरी हुँदै झ्यामखोला सडक, वडा नम्वर १२ को कालाखोला देखि वडा कार्यालय हुँदै ठुलिबार्खुसम्मको सडक, वडा नम्वर १३ को भल्मा देखि चुलचुले हुँदै वडा कार्यालय जोड्ने सडक र वडा नम्वर १४ को बाँकेज्युला देखि वडा कार्यालयसम्मको सडक स्तरोन्नती गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
बेलायती राजदुतावासको सहयोग, विश्व खाध्य कार्यक्रम र सप्रोस नेपालको संयुक्त सहकार्य तथा आठबिसकोट नगरपालिकाको समन्वयमा सञ्चालित सयुंक्त पुनर्लाभ कार्ययोजना, सामुदायिक पुर्वाधार उत्थानशीलता तथा विश्व खाद्य सुरक्षा अभिवृद्धि परियोजना अन्तर्गत चार सडक स्तरोन्नती गरिएको हो ।
सडक हस्तान्तरण कार्यक्रममा आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले संघ सस्था, नगरपालिका र नागरिकको सहयोगले काम प्रभावकारी भएको बताउनुभयो । उहाँले सबैको एकिकृत पहल, सक्रियता र सहयोगले सडक स्तरोन्नतीको कार्य समयमै भएको जनाउनुभयो ।
गत भदौ १९ गते उक्त स्थानका सडक निर्माण उपभोक्ता समिति र सप्रोस नेपाल विच स्तरोन्नतीका लागि सम्झौता भएको थियो । पुस १० गते नै सडक निर्माण कार्य सम्पन्न भएको परियोजनाका संयोजक त्रिभुवन बास्तोलाले जानकारी दिनुभयो । चार सडक स्तरोन्नतीको कार्यमा सात करोड ३८ लाख रुपियाँ खर्च भएको छ ।
सडक निर्माण कार्यमा स्थानीय भूकम्प प्रभावित तथा लाभग्राही नै संलग्न भएकोले स्वरोजगार समेत सिर्जना गरिएको परियोजना संयोजक बास्तोलाले उल्लेख गर्नुभयो । उक्त सडक निर्माणपछि स्थानीयलाई सहज हुने बताईएको छ । स्थानीयले आवतजावत तथा दैनिक गतिविधिमा सहजता आउने भन्दै खुसी व्यक्त गरेका छन् ।