लोग्नेसँग फोनमा झगडा, घरमा दुई छोरीको घाँटी थिचेर हत्या !

"उनीहरूलाई मार्ने र आफू पनि मर्ने भन्दै पहिला बच्चालाई मारे, तर आफू मर्न भने सकिँन "
बिहीबार, पुस २५, २०८१

सल्यानमा दुई नाबालिका छोरीहरूको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी आमाले हत्या गरेको स्वीकार गरेकी छिन् । 

बुधबार बिहान बनगाड कुपिण्डे नगरपालिका -११ गलगौलमा दुई नाबालिका दिदीबहिनी घरभित्रै मृत भेटिएका थिए। २६ वर्षीया पुर्णिमा रानाले आफ्नै साढे २ वर्षीया छोरी करिष्मा राना र ६ महिनाकी छोरी रागवी रानाको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख (डिएसपी) केशर न्यौपानेले जानकारी दिनुभयो।

पुर्णिमाले बुधबार बिहान ११ बजेतिर श्रीमानसँग फोनमा झगडा भएको र त्यही रिसमा हत्या गरेको बयान दिएको उहाँले जानकारी दिनुभयो । 

पुर्णिमाको भनाई उद्धत गर्दै डिएसपी न्यौपानेले भनुभयो, "फोनमा कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो। त्यसपछि मैले रिसको झोकमा उनीहरूको हत्या गरें। उनीहरूलाई पनि मार्ने र आफू पनि मर्ने भन्दै पहिला बच्चालाई मारें। तर, आफू मर्न भने सकिँन ।"

उनले श्रीमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई मारेको बयानमा भनेकी छन्। माघी तिहारमा घरमा आएपछि आफुलाई मार्ने र छोरीहरु आफ्नो नभएको भनेर पटकपटक धम्की दिने गरेको पुर्णिमाले बताएकीछिन । आफ्नो आमा नभएर आफुले दु:ख पाएको र त्यसै गरि छोरीहरूले पनि  दु:ख पाउँछन् भनेर छोरीहरुको हत्या गरेर आफुले आत्महत्या गर्ने सोच बनाएको उनले प्रहरी समक्ष बयान दिएकीछिन । 

छोरी करिश्मा बुधबार बिहान छिमेकीको घरमा खेल्न गएको र १० बजे तिर घरमा फर्किएको समेत बताएकी छन । छोरीहरुको हत्या गरेपछि ठुली छोरी बिरामी परेको भन्दै गाउँको जेठानीलाई फोन गरेर खबर गरेको तर जेठानी जंगल गएको उनको भनाई छ । गाउँको हजुरआमा घरमा आँउदा दुबै छोरी मृत देखेको स्थानीयले बताएका छन् । 

हत्या आरोपी आमा पुर्णिमाको परपुरुषसँग सम्बन्ध भएपछि यस्तो सोच बनाएको हुन सक्ने बताईएको छ ।  

घटना हुँदा मृतक दिदीबहिनीसँगै आमा पूर्णिमा पनि घरमै थिइन्। बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्छन्। दुबै नाबालिकाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याईएको र थप अनुसन्धानको कार्य भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार ...

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्