सोसल मिडिया
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -८ पेउघामा रहेको जनप्रिय माध्यमिक विद्यालयका संस्थापक स्व. यज्ञबहादुर खड्काको शालिक स्थापना गरिएको छ ।
बिहिबार एक कार्यक्रमका बिच कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवम् कर्णाली प्रदेश सभा सदस्य बेदराज सिंहले खड्काको शालिक अनावरण गर्नुभएको हो ।
तत्कालिन पेउघा गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै पेउघा गाउँ विकास समितिको अध्यक्ष भएर लामो समय सामाजिक योगदान दिनुभएका स्व. खड्का नेपाली काँग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।
उहाँले ग्रामिण बस्तीमा शिक्षाको ज्योती फैलाउन विद्यालय स्थापना देखि लिएर विभिन्न सामाजिक कार्य गरेर महत्वपूर्ण योगदान दिनुभएको थियो । वि.सं.१९७३ पुस २५ गते जन्मुनु भएका खड्काको वि.सं. २०५६ पुस १४ गते निधन भएको थियो ।
खड्काले तत्कालिन अवस्थामा १६ वर्षकै उमेरमा तालुकदार बनेर सामाजिक योगदान सुरु गर्नुभएको थियो भने प्रजातन्त्रको स्थापनापछि २००७ सालमा नेपाली कांग्रेसमा आवद्ध हुनुभएको थियो ।
वि.सं. २०१५ सालमा नेपाली कांग्र्सेको जिल्ला कमिटी सदस्य हुुनुभएका उहाँले सोहि वर्ष अम्बासमा पोखरी बनाउने कार्य गर्नुभएको थियो । २०१८ सालदेखि २०३४ सालसम्म निर्वाचन तथा निर्विरोध रुपमा पेउघा गाउँ पञ्चायतको प्रधानपञ्च हुनुभएका उहाँले वि.सं. २०३० सालमा साबिक पेउघा ५ मा जनप्रिय माविको स्थापना गर्नुभएको थियो ।
त्यसपछि २०३९ सालबाट २०४६ सालसम्म प्रधानपञ्च हुनुभएका खड्का २०४७ सालमा नेपाली कांग्रेसको पेउघा गाविस सभापति हुुनुभएको थियो । २०४८ सालको नवौ महाधिवेशन मार्फत नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुभएका उहाँ २०४९ सालदेखि २०५४ सालसम्म पेउघा गाविसको अध्यक्ष भएर सेवा गुर्नभएको थियो ।
विद्यालय स्थापना देखि विभिन्न सामाजिक तथा राजनीतिक कार्य मार्फत गर्नुभएको योगदानको कदर गर्दै विद्यालयमा उहाँको शालिक स्थापना गरिएको बताईएको छ । स्वर्गीय यज्ञबहादुरका ४ छोरा १ छोरी हुनुहुन्छ । उहाँको १०९ जन्मजयन्तीको अवसरमा शालिक अनावरण गरिएको हो ।
उक्त कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसी, उपाध्यक्ष राज कुमारी रेउले, स्व. खड्काका छोरा बुहारी तथा परिवारका अन्य सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, बुद्धिजीविहरु लगायतको उपस्थिति रहेको थियो ।