सुन्तला बोकेको भ्यान दुर्घटनामा चालकको मृत्यु, ३ बालिका गम्भीर घाइते

शुक्रबार, पुस २६, २०८१

रोल्पाको माडी गाउँपालिका -१ ओतदेखि सुन्तला बोकेर नेपालगन्ज जाने क्रममा पिकअप भ्यान पल्टिँदा चालकको मृत्यु भएको छ । भ्यानमा सवार ३ बालिका गम्भीर घाइते छन्।

शुक्रबार दिउँसो साढे ४ बजेतिर रोल्पाको त्रिवेणी गाउँपालिका -४ सिमपानी र लामपुत्ली बीचमा पर्ने सडकमा लु १ च ८६८७ नम्बरको भ्यान दुर्घटना भएको हो । दुर्घटनामा माडी गाउँपालिका १ भिताबाङका २० वर्षीय चालक हुकुम घर्ती मगरको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार उकालोमा ब्रेक फेल भएपछि जिप अनियन्त्रित भई तल खस्न पुगेको थियो। ब्रेक फेल हुँदा जिप सडकदेखि करिब २० मिटरमुनि खसेको हो। 

दुर्घटनामा परेर जुगारको नेर्पामा सञ्चालन भइरहेको सातौं पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डमा सहभागी भएर घर फर्किरहेका ३ छात्रा गम्भीर घाइते भएका हुन्। उनीहरूले घर फर्कन लिफ्ट मागेर भ्यानमा चढेका थिए। चालकसँगै उनीहरू च्यापिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताउनुभयो।

दुर्घटनामा त्रिवेणी गाउँपालिका -४ चक्री निवासी १४ वर्षीया दिलमाया घर्ती मगर, १२ वर्षीया सरिता घर्ती मगर र त्रिवेणी गाउँपालिका -२ नुवागाउँकी ११ वर्षीया करुणा बाठामगर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ।

दुर्घटनामा परेको भ्यानमा करिब १८ क्विन्टल सुन्तला रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्