सोसल मिडिया
रुकुम पश्चिममा पत्रकारहरुले निर्धक्क भएर समाचार लेख्नुपर्नेमा जोड दिईएको छ । शनिबार नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले रुकुमको पत्रकारिता बिषयमा सरोकारवाला निकायसँग मुसिकोटमा गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले निर्धक्क भएर सत्य, तथ्य समाचार लेख्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देव बहादुर बिकले प्रलोभन र त्रासमा नपरी सच्चा पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा उच्च नैतिकता रहने भएकोले त्यसमाथि कसैले प्रश्न उठाउने गरी काम नगर्न समेत जिल्लाका पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले पत्रकारीतामा टिक्न गाह्रो हुने गुनासो आईरहेको तर यसको उचित व्यवस्थापन हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले आफूहरु नजिकबाट सहयोग तयार रहेकोले समाजको हितको लागि पत्रकारितामा लाग्न अनुरोध गर्नुभयो ।
त्यसैगरी त्रिवेणी गाँउपालिका अध्यक्ष गणेश कुमार केसीले पत्रकारीतामा बार्गेनिङ गर्ने गलत काम पनि हुने गरेकोले रुकुममा पत्रकारहरु त्यतातर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाजका लागि डटेर लड्नुस, खोजेर लेख्नुहोस् तर इमान र जमानका साथ काम गर्नुस, हामी साथमा छौं ।’ रुकुमको पत्रकारिताले विकास र उपलब्धि हाँसिल गर्दै गईरहेकोले राम्रो कामको निरन्तरता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुल बहादुर जीसीले हिजो भन्दा आज र आज भन्दा भोली राम्रो गर्नुपर्छ भनेर कर्म गर्नुपर्ने जनाउनुभयो । जहाँ पारदर्शिता हुन्छ, त्यहाँ कुकर्म न्यून हुने भएकोले सूचना दिएर पारदर्शिता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले सबैको सहकार्य तथा हातेमालोबाट सकारात्मक परिणाम ल्याउन सकिने भएकोले मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रुकुमका पूर्व अध्यक्ष गणेश चिन्तनले विश्वासको अभाव बढिरहेको समाजमा पत्रकारिता क्षेत्रले त्यो खाडल पुर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले पत्रकार महासंघमा निन्दकहरुको भिड रहेको उल्लेख गर्नुहुँदै महासंघ सजक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले मुसिकोटका अध्यक्ष गोकर्ण खड्काले पार्टीको पत्रकार भनेर लगाईने ट्याग चिर्नुपर्ने बताउनुभयो । पत्रकारले ग्रामीण भेग र किसानका कुरा, सामाजिक सवालमा निरन्तर कलम चलाउन आवश्यक रहेको खड्काको भनाई छ ।
जिल्ला अस्पताल विकास समितिका अध्यक्ष टेक कुसारीले पत्रकारिता पेशामा दिगोपन आवश्यक रहेको बताउनुभयो । उहाँले विज्ञापन एकीकृत गर्न आवश्यक रहेको र जिल्लाकै मिडियालाई विज्ञापन दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले पत्रकार र सरकारी कार्यालय, जन प्रतिनिधि बीचमा असल सम्बन्ध हुनुपर्ने र पत्रकार आयो भनेर डराउनु नपर्ने बताएका छन् । पत्रकारिता पेशामा टिकाईराख्ने वातावरण निर्माणका लागि राज्यका निकायहरुले गम्भिरतापूर्वक ध्यान दिनुपर्ने पत्रकारहरुको माग रहेको छ ।
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमा अध्यक्ष गोपाल प्रासद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्र महताराले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुमित्रा केसीले राख्नुभएको थियो भने कार्यक्रमको उद्धेश्य माथि उपाध्यक्ष देवकुमार ओलीले प्रकाश पार्नुभएको थियो । मानव विकास तथा सामुदायिक सेवा चौरजहारीको सहयोगमा भएको उक्त कार्यक्रममा जिल्लास्थित क्रियाशिल पत्रकारहरु, विभिन्न कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।