भूमि आयोग रूकुम पूर्व र पश्चिमको अध्यक्षमा हरिहर र शसिराम नियुक्त

शनिबार, पुस २७, २०८१

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रुकुम पूर्व र रुकुम पश्चिमको जिल्ला स्तरिय भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरेको छ । 

मन्त्रालयले रुकुम पूर्वको अध्यक्षमा हरिहर पौडेल र रुकुम पश्चिमको अध्यक्षमा शसिराम नेपालीलाई नियुक्त गरेको हो । शुक्रबार भएको मन्त्रीस्तरिय निर्णय अनुसार अन्य जिल्लाहरुसँगै रुकुम पूर्व र रुकुम पश्चिममा पनि जिल्ला अध्यक्ष नियुक्त भएको नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणी गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार आयोगको जिल्लास्थित कार्यालयमा एक अध्यक्ष, एक विज्ञ सदस्य, एक खुला र एक महिला सदस्य रहने व्यवस्था रहेको छ । सदस्यहरु नियुक्तिको भने निर्णय भएको छैन । 

जिल्ला स्तरिय भूमि समस्या समाधान आयोग रुकुम पश्चिमको अध्यक्षमा नियुक्त नेपाली नेकपा एमाले रुकुम पश्चिमको सचिव हुनुहुन्छ भने रुकुम पूर्वको अध्यक्षमा नियुक्त पौडेल पार्टीको कार्यालय सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो । 

आयोगले सुकुम्वासीहरुलाई जग्गा उपलव्ध गराउने, लालपुर्जा वितरण गर्ने, अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने लगायतका काम गर्ने बताईएको छ । 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्