सोसल मिडिया
रुकुम पश्चिमका स्थानीय तहले विपन्न र लक्षित वर्गका नागरिकको स्वास्थ्य बिमामा लगानी गर्ने गरेका छन् । संघीय सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएपछि स्थानीय सरकारले समेत त्यसको प्रभावकारी कार्यान्वयनमा सक्रियता देखाएको हो ।
यहाँका स्थानीय तहले गरिब, विपन्न, द्वन्द्वपीडित, घाईते तथा अपाङगता भएका व्यक्ति लगायतको स्वास्थ्य बिमाको लागि बजेट बिनियोजन गरेर बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाएका छन् । चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाले वजेट बिनियोजन गरेरै नागरिकको स्वास्थ्य बिमा गरिहरेका छन् भने त्रिवेणी र बाँफिकोट गाउँपालिकाले भने यस वर्ष स्वास्थ्य बिमाको लागि बजेट बिनियोजन नगरेको बताईन्छ ।
चौरजहारी नगरपालिकाले विगत केहि वर्ष यता नै यस कार्यक्रमलाई निरन्तरता दिदै आएको जनाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार चालु आर्थिक वर्ष ०८१/०८२ मा नागरिकको स्वास्थ्य बिमा गर्न नगरपालिकाले करिब ४५ लाख रकम व्यवस्थापन गरेको छ ।
यसबाट एक हजार २८४ परिवारका छ हजार ४२० नगरवासीको स्वास्थ्य बिमा गरिएको छ । नागरिकको स्वास्थ्य बिमा गरेर १२ करोड ८४ लाख खर्च बराबरको स्वास्थ्य सुविधा सुनिश्चित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जनाउनुभयो ।
मुसिकोट नगरपालिका पनि यस वर्ष २१० घरपरिवारको बिमा गरिदिएको छ । यसका लागि नगरपालिकाले करिब साढे सात लाख रुपियाँ लगानी गरेको छ । आठबिसकोट नगरपालिकाले पनि विपन्न, सहिद परिवार, घाईते तथा अपाङगता भएका व्यक्ति लगायतको लागि आठ लाख रकम बिनियोजन गरेर बिमा गरेको जनाएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमकै लागि गत आर्थिक वर्ष ०८०/०८१ मा सानीभेरी गाउँपालिकाले आठ लाख रुपियाँ बिनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पनि सानीभेरी गाउँपालिकाले सहिद परिवार, घाईते, विपन्न नागरिकको स्वास्थ्य बिमा गरेको छ ।
सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले यो कार्यक्रम जनताको स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको र सर्वसाधारणहरुले उपचार खर्चमा ठुलो राहतको महशुस गरेको बताउनुभयो । दुर्गम बस्तीका जनताहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन समेत स्वास्थ्य बिमा कार्यक्रम सफल भएको उहाँको बुझाई रहेको छ । केहि वर्ष स्थानीय सरकारले लगानी गरेर बिमा गरिदिने गरेतापनि नागरिकहरु आफै बिमा गर्न अभ्यस्त हुनुपर्ने अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो ।
स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाका छ वटै पालिकाका २० हजार ८८४ घरधुरीका ८५ हजार ७८८ जनाको स्वास्थ्य बिमा गरिएको छ । बोर्डका जिल्ला संयोजक कमल डाँगीका अनुसार जिल्ला अस्पताल सल्ले, चौरजहारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारी, सहिद स्मृति नगर अस्पताल चौरजहारी, आठबिसकोट नगर अस्पताल र सानीभेरी गाउँपालिका अस्पतालमा प्रथम सेवा बिन्दु कायम गरेर स्वास्थ्य बिमा गरिएको छ ।
स्वास्थ्य बिमाको लागि प्रति परिवारका पाँच जना सदस्यको बार्षिक तीन हजार पाँच सय शुल्क मात्र तिर्नुपर्ने हुन्छ । पाँच जना भन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति सात सयका दरले शुल्क बढ्ने गर्दछ । बिमा गराएका परिवारका पाँच जना सदस्यको एक लाख सम्मको उपचार खर्च सरकारले नै बेहोर्ने प्रावधान रहेको छ । यो कार्यक्रमले नियमित स्वास्थ्य जाँचका लागि बिमितलाई सजक र सहज बनाएको पाईन्छ ।