विद्यालयमा भुकम्प सम्बन्धि सचेतना जगाउँदै सशस्त्र प्रहरी

सोमबार, पुस २९, २०८१

सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म रुकुम पश्चिमले विद्यालयस्तरमा भूकम्प सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । 

सोमबार मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई भूकम्प सम्बन्धी अभिमुखिकरण गरिएको हो । 

२४औँ सशस्त्र प्रहरी दिवसको अवसरमा विद्यालयस्तरमा भूकम्प सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन धानुकले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई भूकम्प के हो, कसरी जान्छ, नेपाल किन भूकम्पीय जोखिममा छ र भूकम्पीय क्षति र जोखिम न्यूनीकरणका उपाय लगायतका बारेमा जानकारी प्रदान गरिएको डिएसपी धानुकले जनाउनुभयो ।

सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माले बिषयवस्तुका बारेमा सहजिकरण गर्नुभएको थियो । विद्यार्थीहरूलाई भूकम्पबाट बच्ने उपायबारे सिकाएर भूकम्पबाट हुने क्षतिलाई कम गर्न विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।  

यस अघि शर्माकै अगुवाईमा मुसिकोट नगरपालिका –५ मा रहेको यमुनानन्द नमूना माध्यमिक विद्यालयमा हिमपात र शीतलहरले जनजीवनमा पार्ने असर र यसबाट बच्ने उपायहरुबारे सचेतना कार्यक्रम सम्पन्न भएको थियो ।

यसका साथै सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान, डिग्रे मन्दिर परिसरमा सरसफाइ, गुल्म परिसरमा वृक्षारोपण कार्यक्रम गरिएको थियो । २४औँ सशस्त्र प्रहरी दिवस आगामी माघ ९ गते मनाइँदै छ । 

सशस्त्र प्रहरी दिवस : विद्यालयमा हिमपात र शीतलहरबारे सचेतना फैलाउँदै सशस्त्र प्रहरी

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्