सोसल मिडिया
सहिद हरिभक्त ओलीको स्मृति दिवसका अवसरमा चौरजहारी अस्पतालमा फलफूल वितरण गरिएको छ ।
नेपाली कांग्रेस चौरजहारी नगर समितिले सहिद ओलीको २६ औ स्मृति दिवसको अवसरका अस्पतालमा भर्ना भएका बिरामी तथा कुरुवा, उपचारका लागि आएका बिरामीलाई फलफूल वितरण गरेको हो ।
नेपाली कांग्रेस रुकुमका सभापति ओलीको तत्कालिन माओवादीद्वारा २०५५ माघ १ गते चौरजहारी नगरपालिका २ स्थित बजारमै हत्या गरिएको थियो ।
जिल्ला विकास समितिका पूर्व सभापति समेत रहनुभएका कांग्रेस नेता ओली विकासप्रेमी, सहयोगी एवम् लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।
स्मृति दिवसको अवसरमा बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपाली कांग्रेस चौरजहारीका सभापति प्रेमबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा भर्ना भई उपचाररत ६४ बिरामी र उहाँका कुरुवा, उपचारका लागि आएका बिरामी र स्वास्थ्यकर्मी समेतलाई फलफूल वितरण गरिएको हो ।
फलफूल वितरण कार्यक्रममा नेपाली कांग्रेसका कर्णाली प्रदेश समिति सदस्य सीता ओली, जिल्ला उपसभापति सुरत जंग मल्ल, सचिवद्वय परमेश्वर भण्डारी र तारकबहादुर शाही, महाधिवेशन प्रतिनिधि खड्क बहादुर डाँगी, पार्टी प्रवक्ता लाल बहादुर ओली, क्षेत्रीय सभापति भद्रबहादुर भण्डारी, जिल्ला सदस्य यदु कुमार आचार्य र अमर सिंह खड्का, चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरी लगायत जिल्ला तथा नगर कार्यसमितिका पदाधिकारी र सदस्यहरु, कांग्रेसका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।