भूकम्प प्रभावितलाई ‘मोबाईल भ्यान’ मार्फत सचेतना

बिहीबार, माघ ३, २०८१

रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रमा सचेतनाका लागि ‘मोबाईल भ्यान’ प्रयोग गरिएको छ ।

‘मोबाईल भ्यान’ अर्थात घुम्ती गाडीमा भिडियो सामाग्री प्रदर्शनीमार्फत विपद् पश्चातको पुनर्निर्माण, सुरक्षित आवास, कार्यस्थलमा हुने यौनजन्य शोषण र दुव्र्यवहार बिरुद्धको बारेमा प्रभावितहरुलाई जानकारी गराईएको हो ।  

बेलायती राजदुतावास (एफसिडिओ) को सहयोगमा जाजरकोट र रुकुमपश्चिममा सञ्चालित संयुक्त पुनर्लाभ कार्ययोजना अन्तर्गत अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले उक्त कार्यक्रम सञ्चालन गरेको हो । आईओएमले ग्रामिण युवा सरोकार केन्द्र मार्फत जाजरकोट र रुकुम पश्चिमका १३ वटा पालिकामा स्वयमसेवक परिचालन गरेर मोबाईल भ्यान कार्यक्रम सञ्चालन गरेको हो । 

आईओएमका इन्जिनियर चन्द्र अधिकारीले पिकअप गाडीमा ठुलो साईजको टेलिभिजन सेट राखेर दुवै जिल्लाका बढी प्रभावित टोलहरुमा सचेतामूलक भिडियो सामाग्री प्रदर्शन गरिएको बताउनुभयो । उहाँले विपदको बेला भिडियो सामाग्रीमार्फत सन्देश प्रवाह गर्दा प्रभावकारी भएको जनाउनुभयो ।

घरबासविहिन भएका तथा विपद्को पीडाले तनाव झेलिरहेका प्रभावितहरुलाई भिडियो प्रदर्शनी मनोरञ्जन र सचेतनाको गतिलो माध्याम भएको बताईएको छ । भिडियो सामाग्री पुनर्निर्माण, सुरक्षित आवास निर्माण, वातावरणमैत्री सिएसईबी ईट्टा, यौन शोषण र दुव्र्यवहार बिरुद्धको सन्देशका बिषयमा केन्द्रित रहेको थियो । टोलटोलमा भिडियो देखाउने गाडी पुगेपछि प्रभावितहरु झुम्मिने गरेको, भिडियो सामाग्रीमा अस्पष्ट भएका कुराहरु सोध्ने गरेको, विभिन्न स्थानहरुमा भिडियो प्रदर्शनीको माग भएको समेत ईन्जिनियर अधिकारीले बताउनुभयो । 

IMG-20241211-WA0027-1737000011.jpgरुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –१० की शारदा खड्का ओलीले गाडीमा देखाएको भिडियोपछि विपद् जतिबेला पनि आउन सक्ने भएकोले सरकारले तोकेको मापदण्ड अनुसारको सुरक्षित घर बनाउनु पर्ने कुरा सिकेको बताउनुभयो । उहाँले प्रभावित व्यक्तिहरुलाई लोभ लालच देखाएर यौन शोषण समेत गर्न सक्ने सम्भावना हुने भएकोले सबैजना सचेत हुनुपर्ने सन्देश समेत जानकारी भएको जनाउनुभयो ।

जाजरकोटको कुशे गाउँपालिका –५ की कमला चन्दले कार्यस्थलमा हुन सक्ने यौन शोषण र दुव्र्यवहारका घटनाबारे भिडियोले बेलैमा सहज बनाएको बताउनुभयो । यसका साथै सरकारको नियम तथा प्राविधिकहरुको सल्लाहमा घर बनाउनु पर्ने कुरा समेत भिडियो हेरेर जानकारी भएको उहाँको भनाई छ । 

ग्रामिण युवा सरोकार केन्द्रका टिम लिडर माधव चन्दले पछिल्लो दुई महिना जाजरकोटका सात वटा र रुकुम पश्चिमका छ वटा पालिकमा स्वयमसेवक परिचालन गरिएको जानकारी दिनुभयो । उनीहरुले भिडियो प्रदर्शनीमा प्रभावित समुदायलाई सूचना दिने, सहभागी गराउने, उठेका जिज्ञासाहरुको जवाफ दिने र सचेत बनाउने काम गरेका छन् ।

चन्दका अनुसार आईओएमको अगुवाईमा जाजरकोटमा ३५ स्थान र रुकुम पश्चिमका ३० स्थानमा मोबाईल भ्यान कार्यक्रम सम्पन्न गरिएको छ । यी स्थानहरुमा भएका कार्यक्रममा करिब तीन हजार जनाले भिडियो अवलोकन गरेर ज्ञान हाँसिल गरेको टिम लिडर चन्दको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्