सोसल मिडिया
माघको कठ्याङग्रिदो जाडो, मडारिएको बादल, मुटु चिस्याउने सिरेठो । घरबासविहिन भूकम्पपीडित परिवारलाई ओत लगाउन जस्तापाता, काठ बेरेर बनाईएका अस्थायी टहरा । दोश्रो हिउँदमा पनि यिनै टहरामा दयनीय बनेर बसेका छन्, जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरु ।
गत वर्षको हिउँदमा त्रिपालमुनि कठ्याङग्रिएका र गर्मीयाममा टहराभित्र उकुसमुकुस भएका पीडितहरु यो जाडोमा टहराभित्रै छन् । टहरामा कठ्याङग्रिएका मात्रै छैनन्, छानाको शीतसँगै आँखाबाट आँशु चुहाउने गरेका छन् । आठबिसकोट नगरपालिका –१३ का नारायण खड्काले छानाबाट तप्–तप् शीत चुहिने गरेको बताउनुभयो । खड्काले भन्नुभयो, ‘विपत्ति पनि गरिबकै घरमा आयो, शीतले सिरक र आँशुले सिरानी भिज्ने गरेको छ । चिसोकै कारण बिहानपल्ट आँखा सुन्निने, ओढेको सिरक भिज्ने गरेको खड्काले जानकारी दिनुभयो ।
जाजरकोटको नलगाड नगरपालिका –१ ठुलाबगरकी साबित्री रानाले भूकम्पको कारण घरमा च्यापिएकी नाबालिका छोरीको साथमा माईतीमै बस्दै आएको र आफ्नो शरिर सग्लो नरहेको बताउनुभयो । भूकम्पमा घाईते भएपछि माईतीको टहरामा सहारा लिएकी रानाले बुढा बाआमा र नाबालिका छोरीको लालनपालन रेखदेख गर्नुपर्ने जिम्मेवारीले आफ्नो स्वास्थ्य उपचार नै गर्न नपाएको जनाउनुभयो । भूकम्पले परिवार नै तहसनहस पारेकोले ‘कता जाउँ र के गरौं’ को अवस्थामा रहेको उहाँले उल्लेख गर्नुभयो ।
नलगाड नगरपालिका –१ कल्पतका जनक नेपालीले भूकम्पपीडितका पीडा झन् थपिदै गएको उल्लेख गर्नुभयो । नेपालीले भन्नुभयो, ‘भूकम्पमा घाईते हुँदा गतिलो उपचार पाईन, ज्यान आधा छ, घरमा अन्नको दाना छैन, उब्जनीले तीन महिना बढी खाना पुग्दैन । घरमुली कालापहाड जाँदा घरको टहरामा बालबच्चा र जेष्ठ नागरिकको बिचल्ली हुने अवस्था छ ।’ उहाँले जेष्ठ नागरिक र बालबच्चालाई चिसोबाट जोगाउन चुनौति रहेको जनाउनुभयो । आगो बाल्नलाई घर बाहिर सिरेठोले नमिल्ने र टहराभित्र ठाउँकै अभाव हुने गरेको छ ।
आठबिसकोट नगरपालिका –१४ का वडा अध्यक्ष हुकुमबहादुर पुनले टहराको बसाई थप जोखिम बन्दै गईरहेको बताउनुभयो । उहाँले आफ्नो परिवार पनि अस्थायी टहरामै बस्ने गरेको, छानाबाट शीत चुहिने र बिहान उठ्दा सिरक भिज्ने गरेको जनाउनुभयो । टहराको शीतसँगै विपद्को पीडाले जनताका आँशु पनि झर्ने गरेको वडा अध्यक्ष पुनको भनाई छ ।
टहराकै अनुदान पाएनन्
भूकम्प गएको करिब १५ महिनासम्म पनि सरकारले अस्थायी आवास निर्माणबापतको दोस्रो किस्ताको रकमसमेत अधिकांश पीडितहरूले प्राप्त गर्न सकेका छैनन् । २०८० कात्तिक १७ गतेको भूकम्पका कारण जाजरकोटमा ४८ हजार ५१६, रुकुम पश्चिममा ३४ हजार ९९७ र सल्यानमा चार हजार ४०७ घरमा क्षति पुगेको तथ्याङक छ ।
भूकम्पले जाजरकोट र रुकुमपश्चिममा १५४ जनाको ज्यान गएको थियो । पुनर्निर्माणको काम समयमै नहुँदा पीडितहरू अझै पनि अस्थायी टहरामा कष्टकर जीवनयापन गर्न बाध्य छन् । यसको मारमा महिला, बालबालिका, जेष्ठ नागरिक, दीर्घ रोगी, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा आर्थिक रुपमा विपन्न वर्गका नागरिकहरू परिरहेका छन् ।