सोसल मिडिया
रुकुम पश्चिमको आठबिसकोटमा फेला परेको एक बेवारिसे शव व्यवस्थापन गरिएको छ ।
गत पुस २४ गते बिहान आठबिसकोट नगरपालिका वडा नम्वर ११ र १२ को सिमाना रहेको रिठ्ठा छिमढुङगास्थित ठुलीभेरी किनारमा फेला परेको शव पहिचान नभएपछि आईतबार कानून बमोजिम व्यवस्थापन गरिएको हो ।
मुसिकोट नगर प्रहरी ईन्चार्ज उमेश केसीका अनुसार शव फेला परेको १२ दिनसम्म पनि पहिचान हुन नसकेको र सडेर दुर्गन्धित भएपछि मुसिकोट नगरपालिका ३ स्थित मुग्लुखोला किनारमा लगेर गाडिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४० वर्षको पुरुषको उक्त शव पहिचानका लागि हुलिया सार्वजनिक गरिएको थियो । नदि किनारमा तैरिएको अवस्थामा फेला परेको उक्त शव फेला पार्दाको समयमा नै सडेको अवस्थामा रहेको थियो ।
उक्त शव जिल्ला अस्पताल सल्लेमा ल्याएर पोष्टमार्टम पश्चात पोष्टमार्टम घरमा नै राखिएको थियो । हुलिया परिपत्र गर्दा समेत सनाखत हुन नसकेपछि कानून बमोजिम प्रक्रिया पुरा गरेर शवको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।