सोसल मिडिया
रुकुम पश्चिम र जाजरकोटका अति विपन्न, अपाङगता भएका, दलित तथा सिमान्तकृत समुदायका भूकम्पपीडित १४ परिवारलाई नमूना घर हस्तान्तरण गरिएको हो ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –१३ का तीन जना, १४ का तीन वटा र जाजरकोटको भेरी नगरपालिका वडा नम्वर १, ३ र ४ का आठ परिवारलाई नमूना घर उपलब्ध गराईएको हो । नमूना घर प्राप्त गर्नुभएका आठबिसकोट नगरपालिका –१३ का भरतजंग मल्लले असाहय परिवारलाई छनौट गरेर घर बनाईदिएको र अब ढुक्कले निदाउ सकिने बताउनुभयो । दृष्टिविहिन मल्लले आफु जस्तै कमजोर अवस्थाका अन्य व्यक्तिहरुको सुरक्षित घर बनेको उल्लेख गर्नुभयो । विपद्ले पीडितहरुमा ल्याएको विचलन रोक्न यस कार्यले मदत गरेको उहाँको भनाई छ ।
सिआरएस नेपालको सहयोगमा कारितास नेपालले सञ्चालन गरेको भूकम्प पुनर्लाभ परियोजना अन्तर्गत भुकम्प प्रतिरोध नमुना घर निर्माण गरिएको हो । कारितास नेपालका प्रदेश व्यवस्थापक जनक शर्माले छुट्टै भान्सा कोठा, शौचालयसहितको दुई कोठे परम्परागत रिथितिथि र संस्कारसहितको भुकम्प प्रतिरोधी घर निर्माण गरिएको बताउनुभयो । उहाँले ढुङ्गा, सिमेन्ट, चुना मिश्रित माटो समेतको प्रयोग गरिएका घरहरु आगो र पानीबाट समेत सुरक्षित भएको जानकारी दिनुभयो ।
घर हस्तान्तरण कार्यक्रममा आठबिसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले भूकम्पले नागरिकको जनजीवनलाई कठिन बनाएको बेला सुरक्षित आवास र जीविकोपार्जनको लागि सहयोग प्राप्त भएको बताउनुभयो । जनताको दैनिकी सुधारका लागि सबैतिर आग्रह गरिएको र पुनर्लाभको क्रममा भूकम्प प्रतिरोधि नमुना घर निर्माण, सुधारिएका बाख्राको खोर निर्माण, सिकर्मी तथा डकर्मी तालिमसँगै खानेपानी, सिंचाइ जस्ता योजना निर्माण गरेर नगरपालिकालाई सिआरएस र कारितास लगाएतका निकायले साथ दिएको उल्लेख गर्नुभयो ।
भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीले अस्थायी टहरा निर्माणको रकम सरकारले दिन नसकेको बेला नमूना घर हस्तान्तरण भएको बताउनुभयो । असाध्यै कठिनपूर्ण अवस्थामा बाँचिरहेका भूकम्पपीडितलाई घरसँगै जीविकोपार्जनको बाटो देखाईदिएकोमा ठुलो गुण लागेको नगर प्रमुख घर्तीको भनाई छ ।
कारितासले आठबिसकोट नगरपालिका वडा नम्वर १३ र १४ मा १२० र जाजरकोटको भेरी नगरपालिका वडा नम्वर १, ३ र ४ मा १८० वटा सुधारिएको बाख्राको खोर पनि निर्माण गरेको जनाएको छ । यसका साथै खानेपानी र सिंचाईका योजनाहरु समेत निर्माण गरेको छ ।
कार्यक्रममा सिआरएस नेपालका परियोजना व्यवस्थापक विकास पौडेलले भूकम्प प्रभावित समुदायको उत्थानशिलताका लागि आवास निर्माणका साथै समुदायस्तरिय क्षमता विकासका कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले सबैको एकिकृत पहल तथा सहयोगीपनको कारण भूकम्पपीडितको पीडामा मल्हम लगाउने काम भएको बताउनुभयो ।