सोसल मिडिया
रुकुम पश्चिम । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य कर्णबहादुर ओलीले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराउनुभएको छ ।
मुसिकोट नगरपालिका -१३ निवासी ओलीले त्रिवेणी गाउँपालिका ७ मा रहेको बाल आदर्श आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
ओलीले नेवि संघका नेता गोविन्द राज ओलीमार्फत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ३५ जना विद्यार्थीहरुको लागि कापि र कलम उपलब्ध गराउनुभएको हो ।
ओलीले आफ्नो जन्मदिनको अवसरमा गरिने खर्चलाई बालबालिकाको शैक्षिक सामाग्री खरिदमा खर्च गरेको बताउनुभयो । जन्मदिनलाई फजुल खर्च गर्ने दिनको रुपमा नभई पवित्र कार्य तथा सहयोग गर्ने अवसर रुपमा लिएर गाउँमा रहेका विद्यालयमा सहयोग गरिएको उहाँको भनाई छ ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि खड्क बहादुर डाँगी, पार्टीका प्रवक्ता लाल बहादुर ओली र मुसिकोट नगर सभापति प्रेम बहादुर ओली लगायतको एक टोली विद्यालयमै पुगेर शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
यस अवसरमा महाधिवेशन प्रतिनिधि डाँगीले जन्मदिनको अवसरमा ओलीले प्रेरणादायी काम गरेको बताउनुभयो । जन्मदिनलाई भड्किलो बनाउने, रेष्टुरेन्टमा मनाउने चलनलाई चुनौति दिएर ओलीले पुण्य काम गरेको उहाँको भनाई छ ।
शैक्षिक सामाग्रीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश डाँगी र प्रधानाध्यापक पिताराम ओलीलाई एकमुष्ट रुपमा हस्तान्तरण गरिएको हो । विद्यालय प्रशासनले सबै विद्यार्थीहरुलाई कापि, कलम उपलब्ध गराउने छ । उक्त कार्यक्रममा समाजसेवी गणेश डाँगी लगायतको उपस्थिति रहेको थियो ।