सोसल मिडिया
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पुनर्निर्माणको क्रममा भूकम्प प्रभावितहरुको घर निर्माणको नक्शा पास गर्दा ५० प्रतिशत छुट दिने भएको छ ।
सोमबार भएकाे नगरपालिकाको २० औ नगरसभाले पुनर्निर्माणको क्रममा घर निर्माणकाे लागि नक्शा पास गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको नगर प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो । जाजरकोट केन्द्रबिन्दु भएर गत वर्ष गएको भूकम्पको कारण घर क्षति भएका यस नगरपालिकाका सात हजार ३७३ घरपरिवार लाभग्राहीमा सुचिकृत भएका छन् ।
नगरसभाले नगरपालिका क्षेत्रभित्र र पोष्टमार्टमको लागि शववाहन सेवा सञ्चालन गरेर त्यसलाई नि:शुल्क गर्ने समेत निर्णय गरेको छ । प्रवक्ता खड्काका अनुसार सभाले केहि कार्यक्रम र बजेट संशोधन गरेको छ भने चालु आर्थिक वर्षको अर्ध वार्षिक समिक्षा गरेके छ ।
यसैगरी नगरपालिकालाई जग्गा उपलब्ध गराउने जग्गादाता र अग्रज लोकस्रष्टालाई सम्मान समेत गरिएको छ । लोकस्रष्टाद्वय दिलिप कुमार केसी र खिमबहादुर सुनारलाई तथा नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायतका सरकारी निकायको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सभामा सम्मान गरिएको हो ।
नगर प्रमुख पुष्प वादीको अध्यक्षतामा भएको नगर सभा आजै सम्पन्न भएको छ ।