सोसल मिडिया
रुकुम पश्चिममा अनलाईनमार्फत नागरिकता सिफारिस सेवा सुरु भएको छ । नागरिकता प्राप्तीका लागि सम्बन्धित वडा कार्यालयबाट हुने सिफारिस अनलाईनबाटै हुन थालेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले स्थानीय तहका सूचना प्रविधि अधिकृत, वडा सचिव, जिल्ला प्रशासन कार्यालयको नागरिकता शाखाका कर्मचारीहरुलाई तालिम तथा अभिमुखिकरण दिएर अनलाईन सिफारिस सेवा सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार आईतबार देखि वडा कार्यालयबाट हुने नागरिकताको सिफारिस अनलाईनमा ईन्ट्रि गर्न अनिवार्य गरिएको छ ।
नागरिकता सेवालाई छिटो, छरितो तथा त्रुटिरहित बनाउन अनलाईन सिफारिस सेवा प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी कुल बहादुर जी.सी.ले बताउनुभयो । उहाँका अनुसार एकिकृत सूचना प्रणालीको विकास, सिस्टममा अभिलेखिकरण, व्यक्तिगत विवरणको सुरक्षा लगायतको लागि पनि अनलाईन सिफारिस महत्वपूर्ण रहेको छ ।
अनलाईन सिफारिस भयो भने प्रशासन कार्यालयमा पटक पटक विवरण रुजु गर्नु नपर्ने, त्रुटि देखिएमा तत्काल सच्याउन सहज हुने र अभिलेख हराउने डर नहुने बताईएको छ । अनलाईन सिफारिस सेवाका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग नियमित समन्वय गरेको थियो ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयका कर्मचारी र स्थानीय तहका सूचना प्रविधि अधिकृतहरुलाई प्रशिक्षण दिएको थियो भने जिल्ला प्रशासन कार्यालयले वडा सचिवहरुसँग अनलाईन मार्फत नै अभिमुखिकरण गरेको थियो । स्थानीय तहका सूचना प्रविधि अधिकृतहरुले वडा सचिवहरुको युजर आईडी र पासवर्ड बनाएर अनलाईन प्रक्रिया बारेमा सहजिकरण गरेका थिए ।
वडा कार्यालयहरुले पनि अनलाईन सिफारिस कार्य सुरु गरिसकेका छन् । मुसिकोट नगरपालिका १० का वडा अध्यक्ष धनबहादुर खड्काले नागरिकताको सिफारिस अनलाईनमार्फत सुरु गरेको बताउनुभयो । यो सेवा प्रभावकारी हुने उहाँको विश्वास रहेको छ ।