रुकुममा पाँच विधामा ब्याडमिन्टन प्रतिस्पर्धा हुँदै

मंगलबार, माघ ८, २०८१

ब्याडमिन्टन खेलको विकास र खेलमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन तथा व्यवसायमा टेवा पुर्याउन रुकुम पश्चिममा तेस्रो संस्करणको ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । 

यस अघि ब्याडमिन्टन प्रतियोगिताको दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमले यस यस पटक दुई चरणमा ५ विधामा प्रतिस्पर्धा गराउने जनाएको छ । संघका जिल्ला अध्यक्ष अनिल बुढाका अनुसार तेस्रो संस्करणलाई भव्य बनाउने र ५ वटा विधामा खेलाउने निर्णय भएको छ । 
 
आगामी फाुगन ९ गतेदेखि पहिलो चरणको प्रतियोगिता सुरु हुने संघका अध्यक्ष बुढाले जानकारी दिनुभयो । पहिलो चरणमा फागुन ९, १० र ११ मा अल नेपाल खुला पुरुष डबल (र्यांकिङ खेलाडी बाहेक) र रुकुम पश्चिम जिल्लाको खुला पुरुष तथा महिला डबल गरी ३ विधामा प्रतिस्पर्धा हुने उहाँको भनाई छ । 

दोस्रो चरणको प्रतियोगिता चैत्रमा रुकुम पश्चिम जिल्ला स्तरीय १७ वर्ष मुनिको पुरुष सिङ्गल र कर्णाली प्रदेश खुला पुरुष डबल विधामा प्रतियोगिता हुनेछ ।  पहिलो चरणमा हुने अल नेपाल खुला ब्याडमिन्टनको विजेता जोडीले ५२ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेता जोडीले ३१ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सान्त्वना दुई जोडीलाई समान ११/११ हजार पुरस्कारको व्यवस्था गरिएको छ । 

रुकुम पश्चिम जिल्ला स्तरीय खुला पुरुष डबल ब्याडमिन्टनको विजेता जोडीले ३० हजार र उपविजेता जोडीले २० हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । सान्त्वना दुई जोडीले समान ५र५ हजार पुरस्कार पाउने छन् । त्यस्तै महिला तर्फको विजेता जोडीले १५ हजार, उप विजेताले ८ हजार र सान्त्वना जोडीले समान ३/३ हजार पुरस्कार पाउने जिल्ला ब्याडमिन्टन संघका सचिव विशाल विष्टले जानकारी दिनुभयो ।  

दोस्रो चरणमा हुने कर्णाली प्रदेश खुला पुरुष डबल ब्याडमिन्टनको विजेताले ३२ हजार, उप विजेताले २० हजार र सान्त्वना हुने दुई जोडीले समान ६र६ हजार पुरस्कार पाउने सचिव विष्टले बताउनुभयो । दोस्रो चरणमै हुने रुकुम पश्चिम जिल्ला स्तरीय १७ वर्ष मुनिको पुरुष सिङ्गल ब्याडमिन्टनको विजेताले १५ हजार, उप विजेताले ८ हजार र सान्त्वना हुने दुई खेलाडीले समान ३/३ हजार पुरस्कार पाउने छन् । 

ब्याडमिन्टन प्रतियोगिता जिल्ला सदरमुकामस्थित बराहटाकुरा मिनी कबर्ड हलमा हुने बताईएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्