नेभिगेशन
समाज

फेसबुकबाट चिनजान भएका प्रेमीसँग विवाह गर्न दुई छोरीको हत्या

आफैले जन्माएका दुई नाबालिका छोरीको घाँटि रेटेर हत्या गरेकी सल्यानकी एक महिलाले आफ्ना प्रेमीसँग आफू अविवाहित भनेर ढाँटेको र थाहा पाउने डरले दुई छोरीको हत्या गरेको खुलेको छ । 

सल्यानको वनगाड कुपिन्डे नगरपालिका – ११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन्। उनले घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेकी थिइन्।

सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा एक युवकसँग प्रेम सम्बन्धमा थिइन्। उनले प्रेमीलाई आफू अविवाहित रहेको बताएकी थिइन्। प्रेमीसँगै बिहे गर्ने उनको योजना थियो। आफ्नो बिहे र छोरीहरू पनि भएको भन्नेबारे प्रेमीले थाहा नपाऊन् भनेर पूर्णिमाले हत्या गरेको खुलेको हो।

अनुसन्धानबाट पूर्णिमा विगत ६ महिनादेखि एक युवकसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। उनीहरूको चिनजान सामाजिक सञ्जाल फेसबुकमार्फत भएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो । 

पूर्णिमाका श्रीमान टेकबहादुर ज्याला मजदुरीका लागि बाहिर गइरहन्थे। घरमा पूर्णिमा र दुई छोरी मात्र हुन्थे। पूर्णिमाले दुई छोरीको हत्या गर्ने समयमा पनि टेकबहादुर मजदुरीका लागि नुवाकोट गएका थिए। हत्याको खबर पाएपछि मात्रै उनी घर फर्किएका थिए।

प्रहरीका अनुसार पूर्णिमाको सल्यान शारदा नगरपालिकाकै तर भारतमा बस्ने युवकसँग प्रेम सम्बन्ध थियो। अविवाहित ती युवकलाई पूर्णिमाले आफ्नो बिहे भएकोबारे खुलाएकी थिइनन्। उनीहरू प्रत्यक्ष भेट पनि भएको थिएन। तर उनीहरूले बिहे गर्ने योजना बनाएका थिए।

सामाजिक सञ्जालमा उनीहरूबीच दिनहुँ जसो भिडिओ कुरा हुन्थ्यो। दुई साना छोरीहरू भिडिओमा युवकले देखेका थिए। को हुन् भनेर सोध्दा पूर्णिमाले दिदीका छोरी भनेर ढाँटेकी थिइन्।

पुस दोस्रो साता ती युवक बिहे गर्ने योजनाका साथ भारतबाट फर्किए। छिमेकी पालिकाका बासिन्दा भएकाले उनीहरूबीच छिट्टै भेट्ने कुरा भयो। भेट्ने समय नजिक आउन थालेपछि पूर्णिमाले दुई छोरीको पालैपालो घाँटी थिचेर हत्या गरेको साबिती बयानसहित स्वीकार गरेको डिएसपी न्यौपानेले बताउनुभयो।

परपुरूषसँग प्रेम सम्बन्धमा रहेको र आफू अविवाहित भएको देखाउन पूर्णिमाले छोरीहरूको हत्या गरेको पुष्टि भएको डिएसपी न्यौपानेले जनाउनुभयो।

उहाँका अनुसार पूर्णिमाले सामाजिक सञ्जालमा चिनेर प्रेम बसेको युवकका लागि छोरीहरूको हत्या गर्नु आफ्नो पागलपन थियो भनेकी छन्। यसअघि पूर्णिमाले श्रीमानसँग फोनमा विवाद भएपछि आवेगमा आएर छोरीहरूको हत्या गरेको भनेर झुटो बयान दिएकी थिइन्। हत्या गर्नुअगाडि उनले प्रेमीसँग भने फोनमा कुरा गरेको पुष्टि भएको छ।

प्रहरीका अनुसार पूर्णिमालाई श्रीमान टेकबहादुरले कुनै प्रकारको शारीरिक वा मानसिक यातना दिएको खुल्दैन। एकपटक प्रेमीसँग कुरा गरेको देखेपछि भने त्यसो नगर्न भनेर सम्झाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। टेकबहादुरले श्रीमती पूर्णिमा विरूद्ध दुई छोरीको हत्याको कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिनुभएको छ । 

प्रहरीले पूर्णिमाका प्रेमी, उनीहरू दुवैका मोबाइल फोन पनि नियन्त्रणमा लिएर घटना अनुसन्धान गरेको थियो। अहिलेसम्म घटनामा ती युवकको कुनै खाले संलग्नता नखुलेको प्रहरीले बताएको छ। मोबाइलहरू भने फरेन्सिक जाँचका लागि काठमाडौंमा पठाइएको छ।

सम्बन्धित समाचार ...

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज