नेभिगेशन
अर्थ/वाणिज्य
मूल्यबृद्धि

सिमेन्टको मुल्यबृद्धि हुँदा भूकम्प प्रभावित थप मारमा 

व्यवसायीहरु आक्रोशित

गत वर्ष जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति गरेका विभिन्न संरचनाहरुको निर्माण कार्य सुर गर्ने बेला सिमेन्टको मूल्यबृद्धि भएको छ । घर निर्माणको बेला सिमेन्टको मूल्यबृद्धि भएपछि यहाँका भूकम्प प्रभावितहरु थप मारमा परेका छन् । 

भूकम्प गएको वर्षदिनपछि सरकारले पुनर्निर्माण कार्यविधि ल्याएको र घर निर्माण थालेको बेला अस्वभाविक रुपमा सिमेन्टको मूल्य बढेपछि अप्ठ्यारो भएको प्रभावितहरुको भनाई रहेको छ ।

चौरजहारी नगरपालिका –१ का अमृत रेग्मीले भर्खरै घर निर्माण सुरु गरेको तर आवश्यक परेको बेला सिमेन्ट पाउन छोडेको बताउनुभयो । उहाँका अनुसार आफूले अनुमान गरेको भन्दा अत्याधिक रुपमा मूल्य बढेको पाईएपछि घर बनाउन अप्ठ्यारो अवस्था आईपरेको छ । यसले गर्दा सयौ भूकम्प प्रभावितहरुलाई समस्या भएको छ । 

आठबिसकोट नगरपालिका –१४ का रमेश मल्लले घर निर्माण गर्ने सिजनको बेला प्रमुख निर्माण सामाग्री सिमेन्टको मूल्य बढेकोले मारमा परेको बताउनुभयो । उहाँले भूकम्पले घरमा क्षति भएपछि टहरामा बस्दै आएको र सरकारले पुनर्निर्माणमा सहयोग गर्ने बताएपछि घर बनाउन लागेको जानकारी दिनुभयो । तर बजारमा सिमेन्टको मुल्यबद्धि भएपछि आफू अन्यौलमा परेको उहाँको भनाई छ । विपद्को कारण घरवासविहिन भएका नागरिकलाई निर्माण सामाग्री खरिदमा छुट दिएर राहत दिने बेला आहात हुने काम गरेको उहाँको बुझाई छ । 

निर्माण व्यवसायी संघका जिल्ला महासचिव मनोज खड्काले सिमेन्टको अस्वभाविक मूल्यबृद्धिले विकास निर्माणको काम नै प्रभावित हुने बताउनुभयो । यसको मारमा सर्वसाधारण, उपभोक्ता समिति र निर्माण व्यवसायी परेका छन् । भूकम्प प्रभावित क्षेत्रमा सञ्चालन हुन लागेको पुनर्निर्माण अभियानलाई नै असर पार्ने गरेर निर्माण सामाग्रीमा मुल्यबृद्धि भएको उहाँको भनाई छ ।

महासचिव खड्काले जिल्ला दररेटसँग नमिल्ने गरी मूख्यबृद्धि भएकोले निर्माण सम्पन्न पश्चात भुक्तानीको प्रक्रियामा थप जटिलता आउने खतरा रहेको उल्लेख गर्नुभयो । अहिले विभिन्न दातृ निकायको सहयोगमा विद्यालय, स्वास्थ्य संस्थाका भवनहरु समेत निर्माण हुन थालेको तर सामाग्री मै लागत बढ्दा निर्माण कार्य अधुरै रहने सम्भावना रहेको छ । वस्तु तथा सेवाको मूल्य निर्धारण तथा नियमित रुपमा परीक्षण गर्न मूल्य निर्धारण प्रणालीको विकास गरेर कार्यान्वयमा ल्याईनुपर्ने उहाँले जनाउनुभयो ।  

सिजनको बेला भौतिक पूर्वाधार निर्माणको लागि अत्यावश्यक निर्माण सामाग्रीका रुपमा रहेको सिमेन्टको मूल्य बढाएको भन्दै रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पल बहादुर खड्काले आक्रोश पोख्नुभयो । उहाँले ठुला उद्योगीहरुले अस्वाभाविक मूल्यबृद्धि गरेर उपभोक्तालाई शोषण गरेको जनाउनुभयो । अहिले बजारमा एक बोरा सिमेन्टको मूल्य ८५० रुपियाँ पुगेको छ ।

राज्यले तत्काल यसको नियमन गरेर मूल्यबृद्धि रोक्नुपर्ने उहाँको माग रहेको छ । सिमेन्टको मूल्यमा प्रति बोरा १५० देखि दुई सय रुपियाँ बढेर आएको अध्यक्ष खड्काले बताउनुभयो । बजारमा माग अनुसार सिमेन्टेको सहज उपलब्धता समेत छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य