जाजरकोट प्रशासनलाई भूकम्प प्रतिरोधी नमुना भवन हस्तान्तरण

बिहीबार, माघ १०, २०८१

जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई भूकम्प प्रतिरोधि नमूना भवन हस्तान्तरण गरिएको छ । युएसएआईडिको सहयोगमा बिल्डअप नेपालले निर्माण गरेको दुई कोठे भूकम्प प्रतिरोधि भवन बिहिबार प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीलाई हस्तान्तरण गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरिएको उक्त भवन बिल्डअप नेपालका परियोजना प्रबन्धक समीर भट्टराईले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । बिहिबार नै उक्त भवनको प्रमुख जिल्ला अधिकारी मंग्रातीले रिबन काटेर उद्घाटन गर्नुभएको छ । 

भवन हस्तान्तरण कार्यक्रममा विल्डअप नेपालका प्रबन्धक समीर भट्टराईले उक्त भवन र परियोजनाको विस्तृत जानकारी गराउनुभएको थियो । इन्टरलकिङ इट्टा प्रयोग गरिएको उक्त भवनले प्रशासनिक र सार्वजनिक सेवा प्रवाहमा सहयोग गर्ने उहाँले बताउनुभयो । स्थानीयको आवश्यकता र आकांक्षासँग मेल खाने बलियो र वातावरणमैत्री संरचनाको रूपमा उक्त भवन निर्माण  गरिएको भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मंग्रातील भूकम्पले गर्दा सम्पूर्ण भवन भत्किएको अवस्थामा  विल्डअप नेपालबाट निर्माण गरिएको भवनले सेवा प्रवाहमा धेरै ठुलो सहयोग हुने बताउनुभयो । उहाँले निरन्तर सहकार्य तथा सहयोगको वातावरणको अपेक्षा गर्दै विल्डअप नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो । भवन बलियो र सुरक्षित रहेको बताईएको छ । 

भवन हस्तानरण कार्यक्रममा जिल्ला अधिकारी लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्