नेभिगेशन
राजनीति

एकिकृत समाजवादी रुकुम पश्चिमको जिल्ला अधिवेशन फागुनमा, तयारीका लागि नौ समिति गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रुकुम पश्चिमको नवौ जिल्ला अधिवेशन आगामी फागुन महिनामा हुने भएको छ । आज मुसिकोटमा बसेको जिल्ला कमिटीको १३ औं बैठकले फागुन २६ र २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । 

पार्टीका प्रचार विभाग प्रमुख अमरराज पुनका अनुसार पार्टी केन्द्रको निर्णयअनुसार आगामी फागुन र चैत सम्म सबै जिल्लामा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने भएकाले रुकुम पश्चिमको अधिवेशन फागुनमा तोकिएको छ । अधिवेशन भव्य रुपमा सम्पन्न गर्न जिल्ला कमिटी बैठकबाट नौ वटा उपसमितिहरू गठन गरिएको छ ।

जसअन्तर्गत स्वागत सत्कार, प्रचारप्रसार, सांस्कृतिक, आर्थिक व्यवस्थापन, स्वयंसेवक, जनपरिचालन, खाद्य तथा आवास, मञ्च व्यवस्थापन एवं राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन लेखन उपसमिति रहेका छन् ।  

उपसमितिको संयोजक तथा सदस्यमा पार्टीका विभिन्न नेता र संगठन प्रमुखलाई जिम्मेवारी दिइएको नेकपा एसले बताएको छ ।  यसैगरी बैठकले माघ महिना भित्रै ६ वटै पालिकाको अधिवेशन र जनवर्गीय संगठनको भेला तथा बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।

अधिवेशन लक्षित जिल्ला कमिटी बैठकको प्रमुख आतिथ्यता केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज देवी ओलीले गर्नुभएको थियो ।  पार्टीका जिल्ला सचिव सुरज कुमार परियारले सञ्चालन गर्नुभएको बैठकको अध्यक्षता जिल्ला अध्यक्ष माधव प्रसाद गौतमले गर्नुभएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति