Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
कामदारले पाएनन् ज्याला

'गाँउघर' बनाएका मजदुरले दुई बर्षसम्म पाएनन् ज्याला

योजना सम्पन्न नहुँदा सेवाग्राहि मर्कामा
tribeni2
  • गोपालसिंह खड्का

रुकुम पश्चिम / काम गरेको दुई बर्ष बितिसक्दा पनि यहाँका कामदारहरुले ज्याला पाएका छैनन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा गाउँघर क्लिनिकको भवन निर्माणमा काम गरेका कामदारहरुले हालसम्म पनि ज्याला नपाएको बताएका छन् ।

कामदारले न त ज्याला पूरा पाएका छन् नत काम नै पूरा गरि संस्था सुचारु भएको छ । सानीभेरी गाउँपालिकाको १० नम्वर वडा स्थित चिन्तुमा २०७६ सालमा निर्माण थालिएको गाउँघर क्लिनिकको भवन निर्माणमा काम गरेका कामदारले ज्याला नपाएका हुन् ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयको दुई लाख र गाउँपालिकाको तीन लाख गरेर जम्मा ५ लाख बजेट खर्च गरिएको चिन्तु गाउँघर क्लनिकको भवन निर्माणका मजदुरी गरेका कामदारले ज्याला नपाएको बताईएको छ । भवन निर्माणमा दक्ष मिस्त्रीको रुपमा काम गरेका स्थानीय धनबहादुर खड्काले दुई बर्षसम्म श्रम गरेको ज्याला नपाएको गुनासो गर्नुभयो ।

उक्त भवन निर्माण स्थलका जग्गादाता पदमबहादुर खड्काका अनुसार पैसा निकासी कार्यमा लापरबाहि गरेकोले पूरा काम गरेको ज्याला मजदुरहरुले नपाएका हुन् । भवन निर्माण समितिका अध्यक्ष समेत रहनु भएका खड्काले कामदारलाई दुई लाख ५० हजार सम्म दिन बाँकि रहेको स्विकार गर्नुभयो ।

स्थानीय खर्कबहादुर खड्काले कामदारलाई ज्याला दिने र भवनबाट सेवा दिने बिषयमा सरोकारवालाको चासो नभएको बताउनुभयो । एकातिर कामदारले ज्याला नपाएको र अर्कोतिर सर्वसाधारणहरु सेवाबाट बञ्चित हुनु परेको उहाँको गुनासो छ ।

यस बिषयमा सानीभेरी गाउँपालिका १० नम्वर वडाका वडा अध्यक्ष कर्णविर डाँगीले भवन निर्माणमा रकम पुग्ने गरि बिनियोजन भएको तर कामदारले लापरबाही गरि काम नगर्दा बजेट नपुगेको बताउनुभयो । 'कामदारको लापरबाहिले समयमै काम सम्पन्न भएन,' वडा अध्यक्ष डाँगीले भन्नुभयो-'अहिले मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट परेको छ, काम पूरा गरेर पहिलेको ज्याला पनि दिने व्यवस्था गराउनुपर्छ ।'

सार्वजनिक संस्था जस्तो निकायलाई बेलैमा सम्पन्न गरि सुचारु गर्नका लागि सरोकारवाला पक्षसँग स्थानीयहरुको गुनासो रहेको छ । बालबालिकालाई, बिरामीको स्वास्थ्य अवस्था सुधार गर्न र स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यका साथ उक्त गाउँघर क्लिनिक भवन निर्माण गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्