अध्यक्ष हुँदा ५२ लाख ल्याएकै हो, ऋणीबाट असुल भएन : अध्यक्ष बिष्ट

मंगलबार, माघ १५, २०८१

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष तथा सानीभेरी गाउँपालिका -३ स्थित सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थाका तत्कालिन अध्यक्ष बिर्खबहादुर बिष्टले आफू सहकारीको अध्यक्ष हुँदा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट ५२ लाख कर्जा लिएको बताउनुभएको छ । 

कोषबाट ल्याएको उक्त रकम माओवादी, कांग्रेस, एमालेका कार्यकर्ता र केहि सर्वसाधारणलाई व्यवसाय सञ्चालनको लागि ऋण दिएको तर असुल हुन नसकेको उहाँको प्रष्टिकरण रहेको छ । 

कोषको सचिवालयले साँवा, ब्याज र हर्जना नतिरेपछि तत्कालिन सञ्चालकहरुको अचल सम्पत्ति रोक्का राखेको समाचार मूलपाटी डटकममा प्रकाशन भएपछि आक्रोशित भावमा उहाँले सामाजिक सञ्जाल फेसबुकमा समाचार र समाचारदातालाई लक्षित गर्दै स्वरोजगार कोषबाट ऋण ल्याएर नतिरेको खबर झुटा भएको दाबी गर्नुभएको छ । 

सोहि स्टाटसमा उहाँले आफू अध्यक्ष हुँदा कोषबाट ५२ लाख ऋण सत्य भएको र सहकारीले लगानी गरेको रकम हालसम्म असुल नभएको स्वीकार गर्नुभएको छ । जबकी उहाँ नै सञ्चालक समितिको अध्यक्ष हुँदाको रकम कोषलाई बर्षौसम्म नतिरेपछि उहाँले नै कोषसँग जमानी राखेको जग्गा गत वर्षको भदौ ५ गते मालपोत कार्यालयमा रोक्का रहेको छ । 

अध्यक्ष बिष्टले आठ बर्ष पहिला आफुले उक्त सहकारी छोडेको, आफूले छोड्दा १७ लाख रुपियाँ नियमित कर्जा बुझाएको, आफूले छोडेपछि हालसम्म ३ जना अध्यक्ष फेरबदल भएको तर कोषबाट ल्याएर लगानी गरिएको उक्त रकम असुली हुन नसकेको उहाँले जानकारी गराउनुभएको छ । 

सामाजिक सञ्जालमै उहाँले आफुले ३० वर्षसम्म निश्वार्थ सामाजिक कार्य गरेको, समाजको भलाईको लागि योगदान दिएको, व्यक्ति भन्दा पनि समाजको भलाईको लागि काम गरेको तर योजनाबद्ध तरिकाले आफ्नो बदनाम गर्न खाजेको उल्लेख गर्नुभएको छ । 

सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थाले कोषबाट लिएको रकम, ब्याज र हर्जना नतिरेपछि सहकारीका तत्कालिन १३ जना सञ्चालकको ४६ कित्ता अचल सम्पत्ति कोषले रोक्का राखेको छ । यो सहकारीको नाममा रहेको जग्गा र घर समेत रोक्का छ । यो सहकारीले कोषसँग २०७२ साल चैत्र १७ गते ५२ लाख कर्जा सम्झौता गरेर ५२ लाख नै निकाशा भएको थियो । 

उहाँले सामाजिक सञ्जालमा राखेको धारणा तथा जानकारी जस्ताको तस्तै यहाँ राखिएको छ :

राजु भाईकाे मुलपार्टीले मेराे बदनाम गर्ने उदेश्यले मैले नै ५२ लाख युयाँ स्वाेराेजगार काेषबाट ऋण ल्याएर नतिरेकाे झुठा सामाचार प्ररशारण गरे !एक पटक बास्तबिकता केहाे ? म बाट बुझ्ने काेसिस गर्नु राम्रो हुने थियाे ! मैले सहकारी छाेडेकाे ८ बर्ष भयाे मैले त्याे सहकारीबाट युवाँ स्वाेराेजगारकाे रकम १ पैसा लिएकाे पनि छैन रकम चाहिँ म आफू अध्यक्ष हुदा ५२ लाख ल्याएकै हाे! मैले सहकारी छाेडदा २०७४ सालमा नियमित किस्ता १७ लाख बुझाएकै हाे! मेराे पछि ३ जना सहकारी अध्यक्ष फेरबदल हुनुभयाे! रकम लिएकाे मान्छेलाई पटक पटक ताकेता भयाे! कसैले दिएन,२ बर्ष अगाडी जिल्ला प्ररशासनमा नाम बुझाईयाे प्ररशासनले पनि सकेन पछाडी भएका अध्यक्ष ज्यु पनि लाग्नु भयाे असुल गर्ने सक्नु भएन ऋण लिनेमा माओबादी,काङगेस,एमाले कार्यकर्ता र केही सर्बसाधारण हुनुहुन्छ ! अब यति भए पनि केही समय पछि रकम सहकारीमा नबुझाए नाम सार्बजनिक गराैला ! हाल हामीले ताकेता गरेरे केही ब्यक्तिबाट १२ लाख ५० हजार उठाएर काेषकाे खातामा राखिदिएका छाै म प्रति कुनै भ्रम नहाेस बरू लिएकाे मान्छेले छिटाे दिएर सहयाेग गरिदिनुहाेला मैले सामाजकाे भलाेलिएर सहकारी निर्माण गरी सेवा गरृकाे हु तर हाम्राे सामाजमा र साेच केही नगरी खाने फरक साेच मैले त्याे कुरा बुझेन ! सामाजकै लागि रहे म हजुरकाे जनप्रतिनिधि हु म बाट कहिल्लै गल्ती भएन, हुने पनि छैन ! मैले ३० बर्ष सामाजिक जीबनमा आफ्नाेलागी र मेराे परिवारकाे लागि, मेराे आफन्तकाे लागी फाईदा लिने साेच कहिल्यै आएन!सामाज, जनता,र दुखी गरिब, साथीभाईकाे लागि साेचे म जति सुकै अप्ठाराे परे पनि जनताकै साथमा भएकाे मान्छेलाई बदमान गर्न खाेजे पनि कतिपय मान्छेले याेजनाबद्व तरीकाले बदनाम गर्ने खाेजे पनि तिमीहरू सफल हुदैनाै !सत्य तत्थे सहकारी कार्यलयमा आएर बुझनु हाेला ! ऋण कुनै पनि हालतमा फिर्ता गरिने छ सहकारी पहिलेकै अबस्थामा छ! ऋण नदिनेलाई कानुनी कार्बाही हुन्छ ! मुल खबर भाई झुठाँ प्रचार नगर !!

birkha-bista-1738063614.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्