मेहलकुना अस्पतालमा मनाइयो ६३ औं नेपाल नर्सिङ दिवस  

मंगलबार, माघ १५, २०८१

सुर्खेत । मेहलकुना अस्पताल सुर्खेतमा ६३ औं नेपाल नर्सिङ दिवस भव्यताका साथ सम्पन्न भएको छ। सोमवार औपचारिक कार्यक्रम आयोजना गरेर नेपाल नर्सिङ दिवस मनाइएको हो। कार्यक्रममा अस्पतालका अध्यक्ष यज्ञबहादुर वि.क, निमित्त मे.सु. डाक्टर राजकुमार भुजेल, एम‍.डि.जि.पी डाक्टर भास्कर झा, नर्सिङ अधिकृत एनिजुनि राईले दुरदराजदेखि सुविधासम्पन्न अस्पतालमा कार्यरत सम्पुर्ण नर्सिङ कर्मचारीहरुको योगदानको प्रशंसा गर्नुभएको थियो।

नर्सिङ पेशाको विगत,वर्तमान अवस्था चुनौतीको बारेमा अस्पतालकी नर्सिङ अधिकृत एनिजुनी राईले प्रस्तुतीकरण दिनुभयो।कार्यक्रमका बीच बोल्दै निमित्त मे.सु. डाक्टर राजकुमार भुजेलले महाभुकम्प,कोभिड महामारी लगायत विषम् परिस्थितिमा अहोरात्र अग्रपंक्तिमा खटिई उल्लेखनीय भुमिका निभाउने समग्र नर्सिङ कर्मचारीहरुको योगदान स्मरण गर्दै नर्सिङ पेशाको महत्वबारे बताउनुभयो।

उहाँले पछिल्लो समय नेपालमा बढ्दै गइरहेको दक्ष जनशक्ति पलायनको कहालीलाग्दो अवस्थालाई चित्रण गर्दै आगामी दिनमा स्वास्थ्यका नीति तथा कार्यक्रममा यी र यस्ता जनशक्ति स्वदेशमै रोक्न सुरक्षित कार्यस्थल,सम्मानजनक सेवा सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।अस्पताल विकास समिति अध्यक्ष यज्ञबहादुर विकले पनि स्वास्थ्यकर्मीहरुको योगदानलाई धन्यवाद दिदैँ समितिले आफ्नो तर्फबाट कर्मचारीहरुलाई प्रेरित गर्न प्रोत्साहनका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्