नेभिगेशन
कला/संस्कृती/धर्म

‘पापीनी’ मेला : माथिगाउँले अन्मायो दुलही 

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका –७ साँखमा पराम्परागत रुपमा लाग्दै आएको ‘पापीनी मेला’ मा किशोरी किशोरी बिच गरिने नक्कली विवाह सम्पन्न भएको छ । यस अवसरमा रित अनुसार बेहुली माग्ने, जन्ती जाने, बेहुली लिएर फर्कने, धुमधाम भोतभतेर काम  र मेला भर्नेकाम धुमधामका हुन्छ ।  

हरेक वर्षको माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजा सहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन रहेको छ ।

पापीनी मेला अन्तर्गतको नक्कली बिहेमा बेहुला बेहुली दुवै किशोरी हुन्छन् । किशोरीलाई नै बेहुला र बेहुलीका रुपमा श्रृङगारेर चलिआएको रित अनुसार बेहुली माग्ने, जन्ति लिएर जाने र माइती पक्षले पनि रित अनुसार छोरीलाई अन्माएर पठाउने परम्परा रहेको छ । यो वर्ष साँखको तलिगाउँबाट जन्ती सहित गएका दुलहा पक्षले माथिगाउँबाट दुलही ल्याएर फर्केका छन् । 

गाउँको बीचमा सुन्दर साँख दह रहेको छ । दहदेखि माथि माथिगाउँ र तलको तलीगाउँ । यो वर्ष तलिगाउँले माथीगाउँसँग दुलही माग्यो र विहेबारी भयो । अघिल्लो वर्ष तलिगाउँले दुलही अन्माएको थियो भने यो वर्ष माथीगाउँले ।

वडाध्यक्ष एक्कबहादुर पाण्डेका अनुसार दुई दिन लगाएर सम्पूर्ण विधि–प्रक्रिया गरेर धुमधामले गरिने विहे भने ‘नक्कली’ हो । विहेमा बेहुला र बेहुली पनि नक्कली नै हुन्छन् । दुवै गाउँका केटीलाई बेहुला र बेहुलीको भूमिकामा राखिन्छ । बेहुला र बेहुली पक्षका अभिभावक, बिहे गर्ने र गराउने जन्ती जाने, भोजभतेरमा सहभागी हुने सबै अविवाहित किशोरी मात्र हुन्छन् । हरेक वर्ष माघ १४ देखि १६ गतेसम्म साँखमा यसरी नै धुमधामका साथ नक्कली बिहे हुँदै आएको छ । 

यो रहर वा बाध्यताभन्दा पनि परम्परा भएको स्थानीय अगुवा पूर्णबहादुर बुढाले बताउनुभयो । साँखमा मानव बस्ती सुरुभएदेखि नै साँखदहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । बुढाका अनुसार हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा मान्छे मर्छन् भन्ने जनविश्वास रही आएको छ । हरेक वर्ष साँखका दुई गाउँले पापीनी तयार गर्छन् र परम्परा चलाउँछन् । परम्परा चलाउने कन्यालाई भने ‘पापीनी’को नाम दिइएको छ ।

‘पापीनी’ हुनका लागि जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने गरेर तीन वटा योग्यता तोकिएको हुन्छ । नक्कली विहे भनेपनि पापीनी मेला भने पनि यसको सबै जिम्मा कन्याहरूकै हुन्छ । पूखौंदेखि चलिआएको यो चलनको भरथेग गर्ने कन्यालाई ‘पापीनी’ किन भनियो भन्ने उत्तर कसैसँग छैन । 

‘पापिनी’ अगुवाको निर्देशन र पहलमा आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम हुन्छ । बेहुलापट्टिका थलामा ७ र बेहुलीपट्टिका थलामा ५ फन्को नाच्ने चलन रहेको छ । सबै विधि सक्कली विहेजस्तै हुन्छ । पापीनी मेलाको परम्परा क्रमशः पुस्तान्तरण हुँदै गएकाले यसले निरन्तरता पाइरहेको स्थानीय अगुवाको बुझाई रहेको छ । 

गत वर्ष देखि हाम्रो सरोकार रुकुमले मेलाको अवसरमा विभिन्न खेलकुदका कार्यक्रमहरु राखेर मेलालाई थप व्यववस्थित र भव्य बनाईरहेको छ ।

यस वर्ष पनि विभिन्न खेलकुद प्रतियोगिताहरु भईरहेका छन् । सरोकारका अध्यक्ष रिजन पाण्डेका अनुसार आज दिनभर भव्य मेला र खेलकुदका कार्यक्रमहरु चल्ने छन् भने भोली खेलकुदका कार्यक्रमहरु सक्काएर मेला समापन गर्ने तयारी रहेको छ । 

papini-1-1738116100.jpg

papini2-1738116108.jpg

papini-3-1738116103.jpg

papini-4-1738116106.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्