नेभिगेशन
समाज

८५ नमूना काम सार्वजनिक गर्दै पदबाट राजीनामा

रुकुम पश्चिमको एक सरकारी विद्यालयका प्रधानाध्यापकले आफ्नो कार्यकालमा भएका ८५ उत्कृष्ट काम सार्वजनिक गरेर पदबाट बिदा लिनुभएको छ ।

आठबिसकोट नगरपालिका –१४ स्थित जनविकास माध्यमिक विद्यालय ज्यामिरकोटका प्रधानाध्यापक दिपक संगम थापाले नियमित कामका अतिरिक्त गरेका नमूना कामहरु सार्वजनिक गर्नुभएको हो । उहाँले एक वर्षको १७ वटाका दरले ८५ नमूना र उत्कृष्ट काम गरेको दाबी गर्नुभयो ।

आफ्नो पाँच वर्षे प्रधानाध्यापकको जिम्मेवारी सफलतापूर्वक पुरा गरेर उहाँले पदबाट हालै राजीनामा दिनुभएको छ । जनविकास मावि भौगोलिक रुपमा विकट र आर्थिक रुपमा कमजोर रहको भूकम्प प्रभावित विद्यालय हो । प्रधानाध्यापक हुँदा विभिन्न दाताहरु जुटाएर अस्थायी भवन निर्माण, पाठ्यसामग्री जोहो, विद्यार्थीका लागि राहत व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।

धेरै कामहरु समन्वय र सहकार्यको माध्यामबाट निःशुल्क गराएको, विगत भन्दा शैक्षिकस्तर उकासेको, कक्षा ५ को नगर स्तरीय परिक्षामा प्रथम भएको, कक्षा ८ को नगर स्तरीय परिक्षामा दोश्रो भएको र एसइईमा ६१ प्रतिशत विद्यार्थी नियमित उतिर्ण भएको उहाँले बताउनुभयो । 

आफ्नो कार्यकालमा दुई वटा पक्की भवन, विद्यालय घेराबार, विद्यालय परिसरमा सरस्वती मन्दिर, पक्की शौचालय, विभिन्न दाताहरुबाट जग्गा निःशुल्क उपलब्ध गराएको, सुविधासम्पन्न डेस्कबेन्च व्यवस्थापन, धारा सहित नयाँ खानेपानी योजना सम्पन्न लगायतको भौतिक प्रगती गरेको बताउनुभयो ।

यसका साथै विज्ञान प्रयोगशाला, आईसिटी ल्याब, मिनि लाईब्रेरी निर्माण, जिल्लामै पहिलो स्टिलको पिउने पानी ट्याङ्कि बनाएको, बाद्यबादनका सामान जुटाएको र विद्यालयको ऋण घटाएको थापाले उल्लेख गर्नुभयो । 

उत्कृष्ट र नमूना काम गरेको, उत्कृष्ट नतिजा ल्याएको भन्दै नगरपालिकाबाट शिक्षक, कर्मचरी र विद्यालय सम्मानित भएको थियो । थापालाई नगरपालिकाले सिर्जनशिल प्रधानाध्यापकको रुपमा नगदसहित सम्मान समेत गरेको थियो । उहाँले सरकारी तवरबाट छात्रालाई सेनेटरि प्याडको व्यवस्था नहुँदै विद्यालयमा सेनेटरी प्याडको ब्यबस्थापन, सेनेटरि प्याड निर्माण तालीम दिएको, उपचारात्मक कक्षा संचालन समेत गरेको बताउनुभयो । आफ्नो कार्यकालमा करिब ५ करोड बराबरको काम भएको उहाँको दाबी छ । 

उहाँले नयाँलाई कामको अवसरको लागि सहजै पदबाट राजीनामा दिएको बताउनुभयो । थापाको सिर्जनात्मक कार्यशैलीबाट आफू प्रभावित भएको नगरपालिकाका शिक्षा अधिकृत ईन्द्रबहादुर बिष्टले बताउनुभयो । उहाँले थोरै समयमा धेरै काम गरेर उदाहरणिय बनेको बिष्टले उल्लेख गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विजय मल्लले विद्यालयको समग्र विकासमा प्रअ थापाको अतुलनीय योगदान रहेको बताउनुभयो । उहाँले दैनिक प्रशासनिक र शैक्षिक गतिविधिका साथै सिर्जनशिल काम गरेर विद्यालयको शैक्षिक वातावरण उच्च बनाउनुभएको मल्लले जनाउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्